वृद्धा चन्द हत्या प्रकरण : नाती र एक युवक महेन्द्रनगरबाट पक्राउ

दार्चुला : मालिकार्जुन गाउँपालिका–७ टोपालीकी ७५ वर्षीया वृद्धा भागरथी चन्दको हत्या गरी फरार रहेका उनका नाती र एक जना अर्का युवकलाई प्रहरीले पक्राउ गरेको छ । महेन्द्रनगरबाट खटि गएको प्रहरी टोलीले मंगलवार साँझतिर पक्राउ गरेको हो । कन्चनपुर प्रहरी स्रोतका अनुसार मालिकार्जुुन गाउँपालिका–७ टोपालीका हाल महाकाली नगरपालिका–४ बांगाबगरमा बस्दै आएका २२ वर्षीय दिपक चन्द र दुहुँ गाउँपालिका–३ बस्ने २० वर्षीय आशिष बमलाई महेन्द्रनगरस्थित एक होटलबाट पक्राउ गरिएको हो । पक्राउ गरिएका दुबैलाई आज बेलुकी मात्रै दार्चुला पुगाइएको छ ।

टोपालीस्थित घरमा एक्लै बस्दै आएकी ७५ वर्षीया भागरथी चन्द भदौ ९ गतेदेखि सम्पर्कविहीन भएपछि स्थानीय र प्रहरीले खोजी गर्दै जाँदा भदौ ११ गते घरभन्दा करिब २ सय मिटर पर खोल्सामा हत्या गरिएको अवस्थामा शव भेट्टिएको थियो । चन्दले पहिरेका गरगहना लुटपाट गरी चक्कु, छुराले शरीरमा खोपिएको पाइएको स्थानीयले बताएका छन् ।

नाती दिपक चन्द र उनीसँग एक जना अर्को व्यक्ति टोेपाली गएको स्थानीयले देखेपछि वृद्धा चन्दको हत्या नातीले नै गरेको शंका भएको थियो ।  सोही दिनदेखि उनीहरु फरार रहेकाले प्रहरीले खोजी गरी पक्राउ गर्न सफल भएको छ । आवश्यक अनुसन्धान पछि उनीहरुलाई सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.