तिब्बत सीमा क्षेत्र तिंकरमा सशस्त्र प्रहरीको बीओपी स्थापना

Krishna

दार्चुला : चीनको तिब्बत सीमा नजिक तिंकरमा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ । दार्चुलाको व्यासँ गाउँपालिका–१ तिंकरमा स्थापना गरिएको बिओपीको शुक्रवार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो । सशस्त्र प्रहरीका अतिरित्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल र दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले संयुक्त रुपमा बिओपीको उद्घाटन गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका सशस्त्र प्रहरी उपरीक्षक डम्बर बहादुर विष्टले बताए ।

बीओपी स्थापनाका लागि एआईजी दाहाल र प्रमुख जिल्ला अधिकारी जोशी नेतृत्वको टोली भारतको बाटो हुदै तिंकर गएको थियो । तिंकरको छायालेकमा स्थापना गरिएको बोर्डर आउट पोष्टमा सशस्त्र प्रहरी निरीक्षक जनक पौडेलको कमाण्डमा २० जनाको टोलि सुरक्षार्थ खटिएको छ । विशेष गरी चीन सीमा नजिक उक्त क्षेत्रबाट सीमामा हुने अपराध नियन्त्रण, लागू औषध ओसारपसार जस्ता आपराधिक गतिविधिलाई नियन्त्रण गर्न र चीन सीमा क्षेत्रको निगरानीका लागि बीओपी स्थापना गरिएको सशस्त्र प्रहरी उपरीक्षक विष्टले बताए । दार्चुलाको उत्तरी क्षेत्र व्याँसमा मात्र सशस्त्र प्रहरीका एउटा गुल्मसहित ४ ओटा बीओपी स्थापना भएका छन् ।

Leave A Reply

Your email address will not be published.