मालिकार्जुन हुनैनाथका गाउँको चिनारी

सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्ला मालिकार्जुन गाउँपालिका हुनैनाथ वडा नम्बर ४ औल्लेक गाउँको सिरानमा अवस्थित आराध्यदेव हुनैनाथ मन्दिरभन्दा करीब १ किलोमिटर तल पश्चिमतिर पारशिला मन्दिर रहेको छ । मैले यो लेखमा हुनैनाथ औतालेक मन्दिरको भणारी घर पारशिला मन्दिर र हुनैनाथ बाजस्थान मन्दिर गोठ्युडी भौनबाटामा अवस्थित भणारी घर तथा भौनबाटाको संक्षिप्त चिनारी वर्णन गर्ने प्रयास गरेको छु । यो लेख तयार गर्न हुनैनाथको भक्तिगाथा, झोडो, सगुना, गाउँका जानकारहरू, लोकश्रुति तथा मेरो प्रत्यक्ष अवलोकन र प्राप्त जानकारीलाई आधार बनाएको छु । पारशिला मन्दिरकै नामबाट पारशिला गाउँ पनि भन्न सकिन्छ । पारशिलाको पश्चिम र उत्तरतिर रानीपातल रहेको छ । रानीपातलमा विभिन्न प्रजातिका वनस्पति र जंगली जनावर र चराचुरुङ्गीहरू पाइन्छन् । प्राचीन कालमा यस ठाउँमा हुनैनाथको ज्योतिर्लिङ्ग (शिला) अलौकिक शक्तिपुञ्ज भएका कारण भक्तजनहरूलाई मनोवाञ्छित फल प्राप्तहुने, हार गुहार सुन्ने, उचित न्याय सम्पादन गर्ने, भक्तजनहरूलाई वरदान दिने र आपत विपतमा परेका व्यक्तिलाई बचाउने लिङ्ग भएकोले उक्त स्थानको नाम पारशिला (पार लगाउने शिला) रहेको हो ।

पारशिला पार र शिला शब्द मिलेर बनेको हो । जहाँ पार भनेको सबैको मनोकांक्षा पूरा हुने र शिला भनेको ज्योतिर्लिङ्ग भन्ने हुन्छ । पारशिलाको शाब्दिक अर्थ सबैको मनोकांक्षा पूरा गर्ने लिङ्ग भन्ने बुझिन्छ । पारशिलामा अवस्थित उक्त अद्भूत शिलाको आराधना गर्ने गरिन्छ । प्राचीन कालमा पारशिला मन्दिर क्षेत्र वरपर मल्ल राठीको मानवबस्ती बढ्दै गएपछि उनीहरू आफूलाई सर्बशक्तिमान सम्झी अन्य जातिका मानिसहरूसंग जाइलाग्ने, स्त्री लम्पट, अन्याय, अत्याचार र दुष्कर्म गर्न थाले । एक दिन भक्तजनहरूले शिलाको पुजा गर्न जाँदा शिला नभेटिएपछि भक्तजनहरू अचम्मित भएर आसपासको क्षेत्रमा लिङ्गको खोजी गर्न थाले । त्यसै दिनदेखि मल्लहरूको बस्तीमा विभिन्न बेथितीहरू हुन थाले । उनीहरूका आइमाईहरूबाट अस्वभाविक बच्चाहरू जन्मिने, गर्भ तुहिने, मानिसहरूमा अशान्तिको वातावरण तथा गाईवस्तुहरू रुखमा समेत चढ्न थाले । यस्तो कुलक्षण देखिन थालेपछि सबै भक्तजनहरू समस्याबाट उन्मुक्तिकोलागि स–भक्तिपूर्वक हुनैनाथको आराधना बन्दना गर्न थाले ।

जय बोल जय बोल, जय जय जय बोल हुनैनाथ स्वामीको !
चरण स्पर्श ध्यान गरौं, फूल समाई जय बोलौं !!

स–भक्तिपूर्वक सबैले हुनैनाथको बन्दना गर्दैगर्दा आकाशवाणी भएछ । “तिमी ताकला, डाङरहरूले मेरो बासस्थान वरपर दुष्कर्म गरेर दूषित वातावरण गरेर मलाई अपवित्र बनाउने चेष्टा गर्याै । यो ठाउँमा बस्दा मैले हलियाको हाँक र मरेको डाड सुन्नु परेको छ । नराम्रा कर्महरूमा दृष्टि पुग्न गएको छ । त्यसैले मेरो शिला लुप्त भएको हो । हे भक्तजनहरू म माथि आस्था राख्छौ भने यो ठाउँको अलि माथि पूर्वपट्टी डाँडामा वृक्षको मुनि बिरालो कराउँदै बसेको हुनेछ । उक्त बिरालो भएको ठाउँमा वृक्षमुनि दियो बलेको हुनेछ । सबै भक्तहरू यो ठाउँमा आएर आज देखि मेरो नामले पुजाआजा गरेमा मनोकामना पूर्ण हुनेछ र पारशिलामा पनि मेरो नामले पुजापाठ गर्दै रहनु“ । त्यसपछि आकाशवाणी बन्द हुन्छ । सबै जना उक्त ठाउँमा गएर हेर्दा बिरालो कराई रहेको र धपधपी दियो बलिरहेको देखेछन् । सबैले भक्तिभावपूर्वक स्तुति बन्दना सहित पुजापाठ गरेछन र सोही दिनदेखि आराध्यदेव हुनैनाथको सोही ठाउँमा पुजापाठ गर्न थालिएको हो ।

कालान्तरमा उक्त ठाउँमा स्थानीयहरूले मन्दिरसमेत निर्माण गरेर हालसम्म पुजापाठ गरिंदै आएको छ । पारशिला मन्दिरको अर्काे पनि चमत्कारिक रहस्य रहेको छ । समल देशबाट समलघाँट उडेर पारशिलामा नै अवतरण भएको थियो । हाल पारशिलाको यो ठाउँमा हुनैनाथको भराणी घर (देवताको सरसामानहरू राख्ने घर) रहेको छ । हुनैनाथको भराणी घरमा भक्तिभाव पूर्वक चडाइएका सामानहरू नै मन्दिरका गहना हुन । यी सामानहरूमा विभिन्न मुर्तिहरू, दमाहा, झ्याली, भोकर, बिगुल, घण्ट, त्रिशूल, मयुरपंखी, चौरीगाईको पूछ, डोली, तापदानी, छात, छडी, नरसिंह बाजा, गडुवा, पानस, पगरी, भाला, शंख, तामाको गाग्री, कुणेलो आदि रहेका छन् । देवकार्य सम्बन्धी छलफलगर्ने पवित्र स्थलको रुपमा पारशिला रहेको छ । हुनैनाथको मूल मन्दिरमा उपहार सहित पुजापाठ गर्नेहरू पारशिलाको दर्शन गरि मूल मन्दिरमा जाने गर्दछन् ।

यसै सन्दर्भमा आराध्यदेव हुनैनाथको चमत्कारिक महिमाको बारेमा वर्णन गर्नु पर्दा हुनैनाथको भक्तिगाथा, झोडो, सगुन, फाग आदिबाट मैले सुनेका, जनश्रुति, विभिन्न पुस्तकहरूको अध्ययनबाट जानकारीमा आएका हुनैनाथका थुप्रै चमत्कारहरू छन् । तर ती चमत्कारहरूको बारेमा मैले यस लेखमा समेट्न खोज्दा कतै पाठकहरूले मलाई हुनैनाथको बढाई चढाई गरेको आरोप पनि लगाउने हुन कि भन्ने संकोचले ती चमत्कारिक घटना परिघटनाहरू पाठकहरूलाई जिज्ञासा भएमा यस पछिको लेखमा उल्लेख गर्ने नै छु । जे होस हुनैनाथको संरक्षणमा हंशराज भट्ट बाहेक बिरालोलाई पनि हुनैनाथको अवतारको रुपमा रहेको देखिन्छ । “अहिले पनि औल्लेकीको बिल्लो, पत्यालको गुनो“ भन्ने गर्दछन् । पारशिलाको परिदृश्य चित्रण गर्दैगर्दा समलघाँट प्रसंगलाई यस लेखमा समावेशगर्नु सान्दर्भिक ठानेको छु ।

समलघाँट प्रसङ्ग
यस लेखमा आराध्यदेव श्री हुनैनाथ स्वामीबाट भए गरेका केही चमत्कारीक महिमाहरू पनि उल्लेख गर्नु सान्दर्भिक देखिन्छ । हुन्शिखरको चमत्कारिक महिमाहरू मध्ये यो लेखमा समलघाँट प्रसङ्गलाई जोड्न गइरहेको छु । प्राचीन कालमा औल्लेकमा हुन्शिखरको अवतार भइ मूल मन्दिर समेत निर्माण भै यहाँका जनमानसमा हुन्शिखर प्रतिको श्रद्धा, भक्ति र विश्वासलेगर्दा भक्तजनबाट देव पुजन गर्ने र मनोवाञ्छित फल प्राप्तहुने जनविश्वास रहेको थियो र अहिले पनि सो विश्वास कायमै रहेको छ । प्राचिन कालमा औल्लेकी हंशराज भट्टका छोराहरू र अन्य छिमेकीहरू हाम्रो मित्र राष्ट्र भारतको अल्मोडा बजारगइ घरको लागि चाहिने अत्यावश्यकीय सरसामानहरू (लत्ता कपडा, नून, भाँडाकुँडा आदि) ल्याउने गर्दथे र आफू संग भएको भटमास, घिउ, गुड लगायतका सामानहरूको बिक्री पनि गर्दथे । त्यस बेला अल्मोडालाई समल देश पनि भनिन्थ्यो ।

औल्लेकीहरूले आवश्यकीय सामनहरूको किनबेच गरेर घर फर्कने बेलामा आफ्नो ईष्टदेव हुन्शिखर देवतालाई उपहार स्वरुप घण्ट चढाउने भक्तिभाव जागेछ । घण्ट खरिद गर्न विभिन्न पसलहरू चहारेर बल्लतल्ल एउटा पसलमा हुन्शिकर देवतालाई चढाउन सुहाउनेखालको एउटा घण्ट फेला पारेछन् । पसलेसंग घण्टको मोलमोलाई भएपछि उक्त घण्टको लागि आवश्यक रकम नपुग भएछ । औल्लेकीहरूले यो घण्ट हाम्रो देवतालाई सुहाउने खालको छ, सकिन्छ भने नपुग रकम हामी दोस्रो पटक आउँदा चुक्ता गरौंला, घण्ट दिनुहोस । सकिँदैन भने अर्काे पटक आउँदा लगौंला यसलाई अरुलाई नबेच्नु होला भनेर पसलेलाई अनुरोध गर्दा पसलेले रिसाएर देवताको धाक फुर्ति किन लगाउनु हुन्छ ? तपाईको देवताको लागि सुहाउने घण्ट हो भने या त घण्टको पुरै पैंसा चुक्ता गर। हैन भने तपाईको देवतालाई साँच्चिकै सुहाउने र तपाईको देवता साँच्चिकै शक्तिशाली छ भने देव शक्तिले आफै लगोस । अन्यथा कुनै उपाय छैन, उधारो दिन सकिँदैन भनेछन् । पसलेले यति कुरा भन्दै गर्दा साँच्चिकै उक्त घण्ट जमिनबाट उठेर घनघनी बज्दै आकास मार्ग हुँदै उडेर पूव दिशातिर लागेछ । यस्तो अचम्मित चामत्कारिक दृश्य देखेर सबै जना छक्क परेछन् । सबैले हुनैनाथको स्तुति वन्दना गरेछन् ।

तत्पश्चात उक्त घण्ट आकास मार्ग हुँदै बज्दै केही समय पछि औल्लेक गाउँको पारशिलामा अवतरण भएछ । उक्त चमत्कारी घाँट औल्लेकीहरूले देखेपछि सबै जना भेलाभइ उक्त घाँटको दर्शन गरि विभिन्न शंका उपशंका अडकलबाजी गर्न थालेछन् । केही दिन पछि समल देशबाट सामान किनेर औल्लेकी घर फर्केर सबै वृत्तान्त बताए पछि सबै नरनारीहरू नतमस्तक भइ आराध्यदेव हुनैनाथको जय जय कारगर्दै उनको महिमाको प्रशंसा गर्न थाले । समलदेशबाट उडेर बज्दै आएको उक्त घाँटलाई हाल सम्म पनि समलघाँट भनेर पुकारिन्छ । यो चमत्कारी अद्भूत शक्ति भएको घाँट (घण्ट) मन्दिरको गव्यूरभित्र सुरक्षित रहेको छ । चमत्कारी शक्ति भएकै कारण सबैको लागि दर्शन गर्न खुला नराखिए पनि चोखो भोको भइ उपवास बसेर शुद्ध तनमनले भेटी चढाएर दर्शन गर्न सकिने प्रचलन रहि आएको छ ।

यो लेख तयार पार्ने क्रममा मैले धेरै खोज अनुसन्धान र अध्ययन गरे भन्दा त पाठकलाई बढप्पन गरेको अनुभूति हुन सक्छ । तर सकेसम्म विभिन्न पुस्तकहरू, गुगल, यु ट्युव, इतिहासका जानकारहरू आदि संग सम्पर्क गरेर यो लेख लेखेको व्यहोरा अनुरोध गर्न चान्छु । पाठकज्यूहरूलाई थप जनाकारी भएमा उपलब्ध गराई सहयोग गरीदिन हुन विनम्र अनुरोध गर्न चाहन्छु ।

भौनबाटा एक चिनारी
दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका–४ हुनैनाथ गोठ्युडीअन्तर्गत भौनबाटा एक सुन्दर रमणीय स्थल हो । हाल भौनबाटामा भौनबाटीहरूको पुर्ख्यौली थलोमा हुनैनाथ बाजस्थान मन्दिरको भणारीघर रहेको छ । भौनबाटा भन्ने ठाउँ बाजस्थान मन्दिरको दक्षिण करीब ५०० मीटर तल रहेको छ । जुन हुनैनाथ औतालेक मन्दिरको पश्चिमतिरबाट टौटाक देखिन्छ । भौनबाटाको पूर्वमा रानीपातल र औल्लेक गाउँ, सिन्याडी, पश्चिममा मसाड, मौवाडी, चलघर, च्युरी, बन्सेला, ओदले, रतोडा मालान, भैसेबाटा, कोट, चोल्थी र उत्तरमा बाजस्थान मन्दिर, गोठ्युडी लेक, भैराँडी, बाङ्गसल्ला, कोटबुङ्गा, छाना, गडानी, ठुलीखाली र सौलेको लेक पर्दछ भने दक्षिणमा तल्लीभौनबाटा, भुर्भुरे, कुम्मा, सनेडा, जोशीगाउँ, मलबाब, ओजीगाड, चन्दनपुर, सलिन्जर, क्यासिर, टाटिक लगायतका गाउँहरू पर्दछन् । औल्लेकी धामीहरू भारद्वाज गोत्री हुन । भौनबाटीहरु पनि औल्लेकी धामी नै हुन् । भौनबाटीहरूको जमिन औल्लेक पारशिलामा हाल सम्म पनि आवादी रहेको छ । यसरी मैले भौनबाटी परिवारको बारेमा चित्रण गर्दैगर्दा औल्लेकीहरूलाई बिरानो भने बनाउन खोजेको होइन है । किनकि औल्लेकी धामीहरू सबै हंश राज भट्टकै सन्तान हुन र सगोत्री (भारद्वाज) पनि ।भौनबाटामा भौनबाटीहरूको ठुलो दुईतले भवन थियो ।

वि. सं. २०४२ सालतिर देववाणीभई भौनबाटामा भणारी घर बनाउनकालागि उक्त भवन भत्काइएको हो । भौनबाटीहरूको पुर्ख्यौली भवन ठुलो आकारमा रहेको र उक्त भवनमा एउटा छुट्टै पाहुना कक्ष (कोठा) रहेको मलाई राम्रो सम्झना छ । उक्त भवन बाटोमा रहेको हुँदा भवनबाटा भन्ने गर्दथे । भवनबाटा शब्द अपभ्रंश भएर भौनबाटा भएको हो । भौनबाटा नाम भौन र बाटा मिलेर बनेको हो । जहाँ भौन भनेको भवन र बाटा भनेको बाटो भन्ने हुन्छ । विभिन्न गाउँठाउँबाट आउने मान्छेहरूको बीचबाटो उक्त स्थान भएकोले र पाँच परिवार बस्ने ठुलो भवन भएकाले भौनबाटा नाम रहन गएको हो । भौनबाटामा हंशराज भट्टका सन्तान पछि भाट र धामी भनिएका भौनबाटीहरू बसोबास गर्दछन् । हाल भौनबाटीहरूले उक्त स्थानमा भणारी घर निर्माण गरि विभिन्न चाडपर्वहरूमा देव कार्यहरू गर्नुका साथै बाजस्थान मन्दिरको पुजन सामग्री तथा अन्य आवश्यक भाँडाकुँडाहरू भण्डार गरिन्छन् । भौनबाटीहरूको पुर्खा दौल धामी हुन । दौल धामी धार्मिक, सामाजिक एवम् आध्यात्मिक व्यक्तित्व थिए । दौल धामीमा हुन्शिकर अवतार भई समय समयमा बिभिन्न देववाणीहरू आउने गर्दथे भनेर भौनबाटी परिवारका बुढापाका र गाउँका अन्य जानकारहरूले बताउँछन् ।

दौल धामीको पालादेखि नै भौनबाटामा बिभिन्न गाउँठाउँबाट मानिसहरूको आवागमन हुने गर्दथ्यो । भौनबाटाको बारेमा चित्रण गर्दा थोरै भौनबाटीहरूको आनीबानी चालचलन पनि उल्लेखगर्नु सान्दर्भिक हुन्छ होला । भौनबाटीका पुर्खा दौल धामी हुन । पुर्खाको पालादेखि हालसम्म भौनबाटीहरू विभिन्न धार्मिक, सामाजिक, राजनैतिक लगायतका कार्यहरूमा सक्रिय रहदै आएका छन् । दौल धामीको पालादेखि नै भौनबाटा घर सम्मानित घर पनि हो । हाल भौनबाटीहरू २÷३ परिवार कञ्चनपुर र कैलाली धनगढीमा बसोबास गर्दछन् । म पनि भौनबाटी नै भएकोले मेरो जानकारी अनुसार थोरै भौनबाटी वंशावली पनि प्रस्तुत गर्नु बाञ्छनिय देखिन्छ । दौल धामीका बुवा फौंरे धामी हुन् । उनका दुई छोरा मध्ये जेठा छोरा गुमान सिंह र कान्छा छोरा सर्पे सिंह हुन । बुवाको तीन पुस्ता कागजात हेर्दा गुमान सिंह र सर्पे सिंह भनेर लेखिएको छ । गुमान सिंहका तीन छोराहरूः– नयन सिंह धामी, लाल सिंह धामी र फुन्चे सिंह धामी हुन् । नयन सिंह धामीका छोरा गोपाल सिंह धामी र नाति चन्द्र सिंह धामी हुन् । चन्द्र सिंह धामीका छोराहरू– ललित सिंह धामी, नवीन सिंह धामी , अनुज धामी र छोरी नीतु धामी हुन् । ललित सिंह धामीका छोरा किरण धामी हुन् । लाल सिंह धामीका छोरा धन सिंह धामी र मोहन सिंह धामी हुन् । धन सिंह धामीका छोरा मान सिंह धामी र रुपेश धामी हुन् । मान सिंह धामीका छोराहरू दिगम्बर सिंह धामी र दिपक धामी हुन् । दिगम्बर सिंह धामीका छोरा सार्थक धामी र छोरी देवांशी धामी हुन् । रुपेश धामीका छोरा किशोर धामी र छोरी कविता धामी हुन् । मोहन सिंह धामी वि. सं. २०२८ साल चैत्र महिनामा प्रवेशिका परीका दिएर काठमाण्डौ गएका र हाल सम्म पत्ता नलागेको (प्रदेशी), निजका धर्मपत्नी वान्नी धामी हुन् । निज प्रदेशीका सन्तान छैनन् । फुन्चे सिंह धामीका छोरा दिलप सिंह धामी र कृत सिंह धामी हुन् । दिलप सिंह धामीका छोरा दान सिंह धामी र राम सिंह धामी हुन् । दान सिंह धामीका छोराहरू सुरेश सिंह धामी, प्रकाश सिंह धामी र छोरी शान्ति धामी हुन । राम सिंह धामीका छोराहरू हरिश धामी र आदित्य धामी हुन् ।

कृत सिंह धामीका छोरा राजेन्द्र सिंह धामी र धौल सिंह धामी हुन् । राजेन्द्र सिंह धामीका छोराहरू मनोज सिंह धामी र गणेश सिंह धामी हुन् । मनोज सिंह धामीका छोरा हरिओम धामी हुन् । निज मनोज धामीको दुर्घटनामा परि भारतमा २०७६ सालमा असामयिक निधन भएको । धौल सिंह धामीका छोराहरू धिरेन्द्र सिंह धामी र विश्राम सिह धामी हुन् । सर्पे सिंहका तीन छोराहरू : त्रिलोक सिंह धामी, भद्र सिंह धामी र जयानन्द धामी हुन् । त्रीलोक सिंह धामीकी छोरी उदा धामी, भद्र सिंह धामीका चार छोराहरू : दान सिंह धामी, बजिर सिंह धामी, सुन्दर सिंह धामी र अर्जुन सिंह धामी हुन् । दान सिंह धामीका छोरा करन सिंह धामी, बजिर सिंह धामीका छोरा रमेश सिंह धामी, सुन्दर सिंह धामीका छोरा पुष्कर सिंह धामी र अर्जुन सिंह धामीका छोरा दिपक सिंह धामी र महेश सिंह धामी हुन् ।

जयानन्द धामीका चार छोराहरू खडक सिंह धामी, देव सिंह धामी, मान सिंह धामी र ईन्द्र सिंह धामी हुन् । खडक सिंह धामीका छोरा मोहन सिंह धामी र वीर सिंह धामी, देव सिंह धामीका छोराहरू जनक सिंह धामी, शंकर सिंह धामी, राम सिैह धामी र लक्षमण सिंह धामी हुन् । मान सिंह धामीका छोरा पदम सिंह धामी हुन् । भौनबाटीहरूका छिमेकी अवस्थी ब्रह्मण हुन् । अवस्थीहरू निकै सुसंस्कृत, पढेलेखेका सभ्य र मिलनसार छन् । जातिय हिसाबले क्षेत्री र ब्रह्मण भएपनि एक आपसमा सुमधुर सम्बन्ध रहेको छ । अवस्थीहरू हाल हुन्शिकरका पुजारी पनि छन् । उनीहरू संङ्ख्यात्मक रुपमा भौनबाटीहरू भन्दा कम भएपनि शिक्षा, रोजगारीका क्षेत्रमा समेत अगाडी रहेका छन् ।

ऐरीछाना गाउँको परिदृश्य चित्रण

दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका अनतर्गत हुनैनाथ वडा नम्बर ४ को ऐरीछाना एक सुन्दर रमणीय गाउँ हो । ऐरीछाना मालिकार्जुन गाउँपालिकाको एक हिस्सा हो । ऐरीछाना गाउँको पूर्वमा लेकम गाउँपालिकाको बुरौंसे र शैल्यशिखर नगरपालिकाको दोबाटा, पश्चिममा मालिकार्जुन गाउँपालिकाकै साविकको ३ नम्बर वडा स्याउलेकोलेक (गोठ्युडी), उत्तरमा मालिकार्जुन गाउँपालिकाको बसेडी र दक्षिणमा लेकम गाउँपालिकाको ओडिगाउँ रहेको छ । यो गाउँमा हंशराज भट्टका सन्तान औल्लेकी धामीहरूको बाहुल्यता रहेको छ । धामीहरूका अतिरिक्त यो गाउँमा खत्री, ओझा, बोहरा जातिका मानिसहरू बसोबास गर्दछन् । यो गाउँका मानिसहरू विभिन्न पेशा व्यवसायमा संलग्न रहेका छन् । यहाँको मुख्य व्यवसाय खेतीपाती नै भएपनि व्यापार, शिक्षण, नोकरी, सिकर्मी, डकर्मी तथा गाउँका केही युवाहरू वैदेशिक रोजागारीमा पनि संलग्न रहेका छन् ।

ऐरीछानाको दृश्य, परिदृश्य चित्रण गर्दैगर्दा उक्त ठाउँको नाम ऐरीछाना कसरी रहन गएछ ? भन्ने जिज्ञासा पाठकहरूलाई हुन सक्छ । म पनि यो गाउँकै वासिन्दा भएको नाताले गाउँका बुढापाका जानकारहरूबाट सुने अनुसार प्राचीन कालमा यो ठाउँमा घना जंगल थियो । घना जंगलमा वन्यजन्तुको आरक्षण पनि हुने हुँदा टाढा–टाढाबाट सिकार खेल्न मानिसहरू आउने गर्दथे । केही समय विश्रामको लागि र सिकार खेल्नको लागि उनीहरूले आड (ऐडा) बनाएका थिए । घामपानी, असिना, गर्मी तथा जाडोबाट वच्न आडको माथि छाना बनाउँथे । उनीहरू सिकार खेलेर घर आउँदा आडछानाबाट आएको भन्दथे । यसरी आडछानाबाट ऐडाछाना हुँदै ऐरीछाना भएको हो ।

यो गाउँको मुख्य बालीनालीहरूमा मकै, गहूँ, भटमास, मसुरो, गहत, कलौं, सोट्टा, धान आदिको उत्पादन हुने गर्दछ । पशुपालनमा गाई, भैंसी, बाख्रा आदि रहेका छन् । खानपान, रहनसहन, धर्म, संस्कार, पोशाक सेरोफेरोको परिवेशमा मिल्दोजुल्दो रहेको छ । यो गाउँमा श्री खान माद्यमिक विद्यालय ऐरीछाना (कक्षा–१० सम्म) रहेको छ । गाउँमा शिक्षाको उज्यालो किरणले गर्दा विभिन्न परम्परागत कुरीतिहरू, अन्धविश्वास, कु–संस्कार आदि हट्दै गएका छन् । गाउँघरमा कुनै मानिस बिरामी हुँदा स्वास्थ्यचौकी, अस्पताल जाने गरेको देख्दा म पनि गदगद छु । रुढीबादी, धामीझाँक्री, तन्त्रमन्त्र आदि चलन पूर्णरुपमा हटी सकेको छ । तथापि कुनै देवकार्यहरूमा ब्राह्मणहरूद्वारा अभिषेक मन्त्रोच्चारण गरि हुन्शिकरको पतरेहरूमा देववाणी भने आउने गरेको कुरालाई नमन गर्दछु । हाल गाउँमा प्रसुति केन्द्र (द्यष्चतजष्लन अभलतचभ) को पनि स्थापना गरेर गर्भवति र सुत्केरी महिलाहरूको घाउमा मल्हम लगाउने सह्रानिय कार्य भएको छ । राम मन्दिरको छेउमा गाउँका सबै बासिन्दाहरू मिलेर आकाशे पानी जम्मा गरेर भैंसी आहाल बस्नको लागि परम्परागत ठुलो पोखरी (खाल) निर्माण गरिएको छ । मेरो जानकारी अनुसार वि. सं. २०५१÷०५२ सालतिर तत्कालिन गाविस अध्यक्षको पहलमा उक्त पोखरीको पुनर्निर्माणको कार्य पनि भएको थियो ।

अहिले पनि उक्त ठाउँमा परम्परागत ठुलो खाल भएकोले “खालीमा“ भन्ने गर्दछन् । खेतीपातीको लागि यो गाउँ निकै उर्बरभूमि हो, तर यो गाउँमा पानीको भने निकै समस्या भोग्नु परेको तितो यथार्थ छ । अहिले पिउनेपानीको प्रयोजनको लागि तल्लो पनेर भन्ने ठाउँबाट सोलार जडानगरि लिफ्टिङ्ग गरेर करीब सबैको घरघरमा पानीको सुविधा छ । ऐरीछानाबासीलाई पर्याप्त पानी उपलब्ध गराउनको लागि लोदेसैनमा ठुलो ट्याङ्क (पोखरी) निर्माणगरी लिफ्टिङ्ग गरेको पानी भण्डारगर्नु जरुरी छ । यसकोलागि स्थानिय निकायको ध्यानजानु आवश्यक देखिन्छ । विद्यालयको छेउमा तत्कालिन गाविस अध्यक्ष श्री धन सिंह धामीको कार्यकाल (वि.सं. २०५०÷०५१) मा केही बजेट बिनियोजन गरि राममन्दिर स्थापना गरिएको छ । राम मन्दिरमा बेलाबखतमा भजन किर्तन र मेला लाग्ने गर्दछ । गाउँमा हुन्शिकर भूमीराज मन्दिर रहेको छ । उक्त मन्दिरमा पनि दशैं नवरात्रमा जमरा राख्ने, चोखो भोको भई व्रत तथा अराद बस्ने तथा विभिन्न चाडपर्वहरू गौरा, रात्रीकालिन जात्रा (जात) लाग्ने गर्दछ । ऐरीछानामा विभिन्न गाउँ÷टोलहरू डाणा, चमडे, ठुलाघर, काफलमा, खर्क, गोर्बेधार, तल्लासैन, लोदेको सैन, लुरा, सल्याडी, देवधुरा, सिराड, दुबाचौड आदि रहेका छन् । ऐरीछाना गाउँको डाणामा, खालीमा र विद्यालय भवन भएको ठाउँबाट उत्तर दिसातर्फ शैल्य शिखर मालिकार्जुन स्वामी र बालीचन स्वामीको दर्शन गर्न सकिन्छ । ऐरीछाना गाउँमा हाल मोटरबाटो पुगिसकेको छ । ऐरीछाना हुँदै देवालय, हुनैनाथ मन्दिर औतालेकबाट डाँडाकोट सम्म सडक विस्तारको काम भइरहेको छ । शंकरपुर देवालय जोड्ने सडकको काम पनि भइरहेको छ । जय हुनैनाथ स्वामी !! जय मालिकार्जुन स्वामी !!

रतोडा गाउँको चिनारी !!!

दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका –४ हुनैनाथको साविक वडा नम्बर –६ एक सुन्दर रमणीय गाउँ रतोडा हो । यो गाउँमा विशेषगरी हंश राज भट्टका सन्तान औल्लेकी धामीहरूको बाहुल्यता रहेको छ । पाठकहरूलाई रतोडा गाउँको नाम कसरि राखिएछ ? भन्ने जिज्ञासामा यो गाउँको मध्यभागमा प्राकृतिक रातो ओडार हाल सम्म पनि रहेको छ । प्राचीन कालमा उक्त ओडारमा घुमन्ते, फिरन्ते जीवनयापन गर्ने रौत (राउटे) हरू बस्ने हुँदा रौते ओडार भनिन थालियो र पछि रतोडा नाम रहन गएको हो भनेर गाउँका बुढापाका तथा जानकारहरू बताउँछन् । अर्काे एकथरिको भनाइ अनुसार उक्त गाउँको मध्यभागमा टाढैबाट टलक्क देखिने रातो ओडार भएबाट पनि “रातो र ओडार“ शब्द मिलाएर रतोडा नाम रहेको भन्ने भनाइ पनि छ । यो गाउँमा स–साना अन्य गाउँ÷टोलहरू मालान, भैंसाबाटा, दोसल्ली, क्वामा, कपस्यडा, नरखाली, कोट,च्युरीधार, कोटिला, चोल्थी लगायतका गाउँ÷टोलहरू रहेका छन् । यस गाउँ भित्रका स–साना गाउँटोलहरू भैंसी चराउन जानेबाटो भएकोले भैंसाबाटा, तत्कालिन ठुला दुई सल्ला भएको ठाउँलाई दोसल्ली, पानीको कुवा भएको ठाउँलाई “क्वा“, प्राचीन कालमा नरायन नामको व्यक्तिले भैंसी आहाल बस्नको लागि र अन्य प्रयोजनकालागि आकाशे पानी जम्मा गर्न खाल (पोखरी) बनाएको हँदा “नरखाली“, रतोडाको माथि टुप्पोमा आकर्षक सम्मपरेको ठाउँ गाउँको नायके (राजा) बस्ने ठाउँ “कोट“, च्युरीहरू भएको ठाउँलाई “च्युरीधार“, कपडसिला माटो (कपडमट्टी) र झाडी बुट्यान भएकोले “कपस्यडा“ भएको हो भनेर जानकारहरू बताउँछन् । साथै “कोट“ गाउँको माथि चूल्ल परेको ठाउँलाई चोल्थी भनिएको हो । औल्लेकी धामीहरूका अतिरिक्त बोहरा, ढोली जातिको पनि यो गाउँमा वस्तिरहेको छ ।

यो गाउँबाट वडा कार्यालय, स्वास्थ्यचौकी, विद्यालय चन्दनपुर (चौण) नजिकमा रहेका छन् । गाउँमा पुरानो अन्धविश्वास हट्दै गएको छ । गाउँका शिक्षित युवाहरूले गाउँको मुहार परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेको कुराले छरछिमेका गाउँवस्तीमा पनि सकारात्मक प्रभाव पारेको देखिन्छ । गोठमा सुत्केरीहुने गराउने चलनलाई पूर्णरुपमा निरुत्साहित गरिएको छ । प्रसवपीडा सुरु हुनासाथ सुत्केरी (बच्चा जन्माउन) हुन स्वास्थ्यचौकी चन्दनपुर जाने गर्दछन् । घरमा कुनै मानिस बिरामीहुँदा धामीझाँक्रीको सट्टा स्वास्थ्य संस्थामा गएर उपचार गर्ने गर्दछन् । उसो त रतोडा गाउँका बासिन्दाहरू धेरै अन्धविश्वासी थिएनन् भन्ने कुरा त छाउगोठ नभएबाट पनि स्पष्ट हुन्छ । रतोडा गाउँबाट गाउँपालिकाको सदरमुकाम पनि नजिकै शंकरपुर पस्तीमा रहेको छ । हाल गाउँको सिरानसम्म मोटर गाडीहरू चल्ने सडक निर्माणको कार्य भइरहेको छ । यो गाउँका मानिसहरूको मुख्य व्यावसाय कृषि खेती भएता पनि शिक्षण, नोकरी, व्यापारमा, सिकर्मी, डकर्मी तथा केही युवाहरू वैदेशिक रोजगारी आदि पेशामा पनि संलग्न रहेका छन् । रतोडा गाउँको रहनसहन, रीतिरिवाज, संस्कृति, चालचलन, धार्मिक संस्कार सबै ऐरिछाना, गोठ्युडी, औल्लेक गाउँको भन्दा पृथक नरहेको कुरासमेत यो लेखबाट संप्रेषण गरे । यो गाउँ हुनैनाथको सु–प्रशिद्ध गाउँ हो ।

लेखका लेखक : मान सिंह धामी (भौनबाटी)
मालिकार्जुन गाउँपालिका ४ हुनैनाथ, गोठ्युडी दार्चुला

स्रोत : धामी, राजेन्द्र र दामोदर (२०७८), आराध्यदेव हुनैनाथको महिमा तथा औल्लेकी धामीहरुको वंशावली । गोकुलेश्वर दार्चुला ।
पाण्डेय,बद्रीदत्त (२०२२), कुमाऊँ का इतिहास । भारत
पन्त, दयाकृष्ण (२०६७), दार्चुलाको ईतिहास । महेन्द्रनगर ।

Leave A Reply

Your email address will not be published.