मधेसका पूर्वप्रमुख राजेश अहिराज पुर्पक्षका लागि थुनामा

काठमाडौं-  मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (राजेश अहिराज) पुर्पक्षका लागि थुनामा पठाइएका छन् । बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश पिताम्बर शर्माको इजलासले अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको अदालतका सूचना अधिकारी दीपक श्रेष्ठले जानकारी दिए ।

उनीमाथि बानेश्वरमा एक युवतीलाई जबरजस्ती करणी गरेको अभियोग छ । अहिराजविरुद्ध गत माघ ३ मा प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता भएको थियो । प्रहरीले चैत २५ मा अदालतबाट पक्राउ अनुमति लिएको थियो ।

त्यसयता फरार रहेका अहिराज भारत गएर लुकेको प्रहरी स्रोतको दाबी छ । प्रदेश प्रमुख भइसकेका अहिराजले घरमा एक्लै भएको समयमा बोलाएर युवतीको मञ्जुरीविपरीत पटकपटक बलात्कार गरेको आरोप छ ।

०८१ जेठ ४ गतेको घटनाको केही समयमै प्रहरी परिसर काठमाडौंमा पुगेकी पीडित युवतीको जाहेरी प्रहरीले नलिएको आरोप छ । उनी प्रहरीविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं पुगेपछि कात्तिक ३० को आदेशमा प्रहरीले जाहेरी दर्ता गरी कारबाही अघि बढाएको थियो । अहिराज यही साउन ४ गते पक्राउ परेका थिए ।

Leave A Reply

Your email address will not be published.