निजी विद्यालय गैरनाफामूलक गर्ने विषयप्रति डाक्टर साउदको धारणा

सुदूरपश्चिम विश्वविद्यालय कैलाली बहुमुखी क्याम्पस कैलालीका अङ्ग्रेजी विषयका सहप्राध्यापक डाक्टर मोहन सिंह साउद सरले निजी विद्यालय गैर नाफामूलक गर्ने विषय प्रति आफ्नो धारणा आफ्नै फेसबुक पोस्ट मार्फत सार्वजनिक गरेका छन्।

उहाँको फेसबुक पोस्ट अनुसार, “विद्यालय गैरनाफामूलक गर्ने कुरा नयाँ आउने भनिएको शिक्षा विधेयकप्रति असन्तुष्टि देखाउदै अहिले निजी विद्यालयहरू आन्दोलनमा छन्। निजी भनेकै नाफाको लागि हो। हुन त संविधानले नै विद्यालय तहको शिक्षा निशुल्क भनेको छ। यसको लागि हरेक नेता, कर्मचारीका बच्चाहरू सरकारी विद्यालयमा हालेर सरकारी विद्यालयहरूको गुणस्तर बढाई निजीहरू सुक्ने स्थिति ल्याउनु नि! संविधानले नै विद्यालय शिक्षा निशुल्क भनिसकेपछि संविधानलाई कुल्चेर फिस तिरेर किन निजीमा नै पढाउछन् संविधान कार्यान्वयन गराउनेहरू नै? निजीसँग निहु खोज्नु भन्दा सरकारी विद्यालयहरूमा लगानी बढाएर गुणस्तर बढाउन किन नसकेको? पहिला भटाभट निजी विद्यालयहरू खोल्न दिने, अनि अहिले आएर नाफा नखाऊ भन्ने? विश्वमा कुन निजी संस्थाहरू छन् गैरनाफामूलक? राजनीति विशुद्व समाजसेवा हुँदाहुदै “के जोगी हुन राजनीति गरेको हुँ र?” भन्ने पनि सुनिन्छ भने निजी संस्थाहरू के सरकारलाई कर तिर्न मात्र खुलाइएका हुन र? सक्ने भए सम्पूर्ण निजी विद्यालय र निजी अस्पतालहरू बन्द गरेर त्यो भन्दा राम्रो गुणस्तर र सेवा सुविधा दिनेगरी राज्यले नै चलाएर चुनौती दिनु नि! शिक्षा र स्वास्थ्य राज्यको प्राथमिकतामा किन नपरेको? भएका सरकारी कलकारखानाहरू त आफ्नो फाइदाको लागि वेचेर खानेले विद्यालय र अस्पतालहरू के निशुल्क रूपमा चलाउन सक्थे र? निजी विद्यालयहरू लखेट्नु भन्दा पहिला वेचिएका सरकारी कलकारखाना फिर्ता ल्याउनु नि? गरिब जनताले सेवा लिने सरकारी विद्यालय र अस्पतालमा यिनका के ध्यान जान्थे र? टाउको दुखे फुर्र विदेश उडे भैगौ! आफ्ना सन्तानलाई महङ्गा विद्यालय वा विदेशमा पढाए भैगो! गैरनाफामूलक निजीको तालमेल कहाँनेर मिल्छ? अनि अहिलेको प्रतिस्पर्धात्मक विश्वबजारमा गैरनाफामूलक निजी संस्था कसरी फस्टाउन सक्ला र? नाफा नै नलिने भए पछि को नै सञ्चालक रातदिन विद्यालयमा खटिएला र? यसले त गुणस्तर झन घट्दैन र? त्यसैले निजी विद्यालयहरू खोल्ने अनुमति दिइसकेपछि तिनका घाँटी च्याप्नेतिर लाग्नुभन्दा राज्यद्वारा सञ्चालित विद्यालयहरूमा लगानी बढाएर, शिक्षाको गुणस्तर बढाउने योजना ल्याएर, शिक्षकहरूलाई थप सेवा सुविधा दिएर प्रोत्साहित गर्दै, शिक्षणलाई सबैभन्दा सम्मानित पेसा बनाएर सरकारी विद्यालयहरूको गुणस्तर बढाउनेतिर लागौ न सरकार!
#नाच्न नजान्ने आँगन टेढो”

डा. मोहन सिंह साउद सुदूरपश्चिम विश्वविद्यालय कैलाली बहुमुखी क्याम्पस कैलालीका सहप्राध्यापक हुन्।

Leave A Reply

Your email address will not be published.