दार्चुलाबाट माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) को मौका (पूरक) परीक्षाका लागि ४९२ जना परीक्षार्थी सहभागी हुने भएका छन ।
आज (मङ्गलबार) देखि सुरु भएको कक्षा १२ को पूरक परीक्षामा यस जिल्लाभरी सामुदायिक विद्यालयका ४९२ जना परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइ दार्चुलाका प्रमुख प्रताप सिह धामीले जानकारी दिनुभयो ।
परीक्षा बिहान ११ देखि २ बजेसम्म सञ्चालन हुने छ । एकाइ प्रमुख धामीका अनुसार पूरक परीक्षा सञ्चालन गर्नका लागि यस जिल्लामा दुई वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । दुई परीक्षा केन्द्रमा ४९२ परीक्षार्थी सहभागी हुनेछन् ।
गोकुलेश्वर मावि गोकुलेश्वरबाट २४२ जना र महेन्द्र नमुनामावि बाट २५० जना विद्यार्थीले मौका परीक्षा दिने कार्यालयले जनाएको छ ।
बुधबारसम्म चल्ने पूरक परीक्षालाई मर्यादित र व्यवस्थित बनाउनका लागि निर्धारित परीक्षा केन्द्रमा सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष नियुक्ति गरिएको छ । शान्तिपूर्ण वातावरणमा परीक्षा सञ्चालनका लागि आवश्यक
शान्ति–सुरक्षाको व्यवस्थाका लागि जिल्लास्थित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग समन्वय गरिएको उहाँले बताउनुभयो । परीक्षा सञचालनको अवधिमा सम्पूर्ण परीक्षा केन्द्रहरुमा जिल्ला परीक्षा समन्वय समितिले परीक्षाको अनुगमन गर्ने शिक्षा विकास तथा समन्वय इकाई कार्यालय दार्चुलाले जनाएको छ ।