सुदूरपश्चिमका काँग्रेसीहरु विशेष महाधिवेशनको विपक्षमा

काठमाडौँ ।  नेपाली काँग्रेसमा विशेष महाधिवेशनको माग राख्दै पार्टीभित्र शुरु भएको हस्ताक्षर अभियानप्रति सुदूरपश्चिमका नेताहरुले आपत्ति जनाएका छन् ।

त्यहाँका दुई दर्जन नेताले विशेष महाधिवेशनका लागि भइरहेको हस्ताक्षर अभियानको विरोध गरेका हुन् । यसले पार्टीलाई विभाजनतिर लैजाने र कमजोर बनाउने जारी विज्ञप्तिमा उल्लेख छ ।

‘यस अवस्थामा पार्टीभित्र अल्पमत, बहुमत, विशेष महाधिवेशन र हस्ताक्षर संकलनजस्ता विषय उठान गरी कार्यकर्तामा भ्रम सिर्जना गर्ने, पार्टीलाई विभाजनतिर लैजाने र पार्टीभित्र एकता कायम हुन नदिनेजस्ता गतिविधिले पार्टी कमजोर मात्र होइन, लोकतन्त्र नै समाप्त हुने भएकाले सबै साथीहरु सचेत र सजग रहन अपिल गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।

अहिलेको विषम र अस्थिर परिस्थितिबाट उठ्न र पुनःनिर्माणमा जुट्न तथा जनतामा शान्ति र सद्भाव कायम गर्न आवश्यक रहेको उनीहरुको भनाइ छ । काँग्रेस सुदूरपश्चिमका कार्यवाहक सभापति लोकराज अवस्थी, केन्द्रीय सदस्य सुशीला मिश्र र नृपबहादुर वड, सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रलगायत २४ नेताले विज्ञप्ति निकालेका हुन् ।

Leave A Reply

Your email address will not be published.