दार्चुला । दार्चुलाका दुई वटा सामुदायिक विद्यालयहरु देशभरिकै उत्कृष्ट विद्यालयको सूचीमा अटाएका छन ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्रले देशभरका ६० जिल्लाका ४ हजार ८६७ वटा विद्यालयहरूको कार्यसम्पादन परीक्षण गर्दा उच्च अंक प्राप्त विद्यालयहरू मध्ये दार्चुलाका दुई वटा विद्यालय समेटिएका हुन ।
असल अभ्यास गर्ने देशभरका उत्कृष्ट विद्यालयहरूमध्ये दार्चुलाको महाकाली नगरपालिका वडा ४ मा रहेको महेन्द्र माध्यमिक विद्यालय खलंगा र सोही नगरपालिकाको वडा ७ मा रहेको मालिकार्जुन माध्यमिक विद्यालय धाप देशभरिकै उत्कृष्ट विद्यालयको सूचीमा परेको बताइएको छ ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्रले हरेक प्रदेशबाट विभिन्न सूचकको आधारमा सर्वोच्च अंक ल्याउने तीन/तीन वटा विद्यालय गरी जम्मा २१ वटा विद्यालयहरू छनोट गरेको थियो। जसमा दार्चुलाको महेन्द्र नमुना मावि खलंगाले ८८ अंक प्राप्त
गर्दै सातौं स्थान प्राप्त गरेको छ भने मालिकार्जुन मावि धापले ८२.८ अंक प्राप्त गर्दै तेह्रौं स्थान प्राप्त गरेको छ ।
देशभरिकै उत्कृष्ट विद्यालयको रूपमा छनोट भएका विद्यालयहरूको भौतिक पूर्वाधार, शिक्षण सिकाइ प्रक्रिया, विद्यार्थीहरूको सिकाइ उपलब्धि स्तर तथा विद्यालयको समग्र व्यवस्थापकीय गतिविधिको स्थलगत अवलोकन समेत गरी
विभिन्न १६ वटा सूचकका आधारमा विद्यालयहरूको उत्कृष्टता निर्धारण गरिएको छ ।