विश्व शिक्षक दिवसकाे इतिहास र महत्त्व

मान सिंह धामी

म पनि शिक्षण पेशामा संलग्न भएकाे नाताले आज विश्व शिक्षक दिवसकाे बारेमा थाेरै जानकारी पाेष्ट्याउने प्रयास गरेकाे छु । सर्वप्रथम त विश्व शिक्षक दिवस -२०८२ को उपलक्ष्यमा शुभकामना सहित गुणस्तरिय शिक्षाका लागि गुणस्तरीय शिक्षक आजको आवश्यक्ता भन्ने नारालाई आत्मसात गर्दछु । विश्व शिक्षक दिवसकाे उपलक्ष्यमा शुभकामना व्यक्त गर्दछु । विश्व शिक्षक दिवस सन् १९९४ देखि संयुक्त राष्ट्रसंघको शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (यूनेस्को) को पहलमा मनाउन थालिएको हो । यसको मर्म यस्ता शिक्षकहरूको भूमिका, अधिकार र कर्तव्यलाई प्रमाणित र सम्मान दिनु हो जसले विश्वभर शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएका छन् । यस दिवसको मिति अक्टोबर ५ रोजिनुको कारण सन् १९६६ मा फ्रान्सको पेरिसमा एक अन्तरसरकारी सम्मेलनले शिक्षकहरूको स्थितिलाई सुधार्न महत्वपूर्ण सिफारिस हरू प्रस्तुत गरेको दिन हो । त्यो सम्मेलनमा युनेस्को र अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) का सदस्य राष्ट्रहरूले संयुक्त रूपमा शिक्षकहरूको पेशागत अधिकार, जिम्मेवारी, प्रशिक्षण र सेवा सम्बन्धी मानकहरूलाई स्वीकार गरी हस्ताक्षर गरेका थिए । यस सिफारिस पत्रलाई सम्मान गदै सन् १९९४ बाट विश्वभरि अक्टोबर ५ लाई विश्व शिक्षक दिवसका रूपमा मनाउन थालिएको हो । यो दिवस शिक्षकहरूको अधिकार र शिक्षा प्रणाली सुधारमा आवश्यक कदमहरू उठाउन प्रेरित गर्ने उद्देश्यले मनाइन्छ । विश्वभरि १०० भन्दा बढी देशहरूमा यो दिवस मनाउने गरिन्छ र यो शिक्षकहरूको सम्मान र शिक्षाको महत्त्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप बढावा दिन्छ ।
विश्व शिक्षक दिवस प्रत्येक वर्ष अक्टोबर ५ मा मनाइन्छ । यस दिवसको मुख्य उद्देश्य शिक्षकहरूको सामाजिक र पेशागत स्थिति सशक्त बनाउनु, शिक्षाको गुणस्तर सुधार गर्नु, शिक्षकहरूको अधिकार र कर्तव्यलाई सम्मान गर्नु र नयाँ पुस्तालाई शिक्षक जस्तो महान पेशातर्फ प्रेरित गर्नु हो । विश्व शिक्षक दिवसले शिक्षकहरूको योगदानमाथि सम्मान प्रकट गर्ने, शिक्षा प्रणालीमा गुणस्तर र सुधारमा जोड दिने र शिक्षण पेशाको मान-सम्मान अभिवृद्धि गर्ने अवसर प्रदान
गर्दछ । महत्त्वका कुराहरूमा शिक्षकहरू समाजका निर्माता हुन् र उनीहरूले मात्र ज्ञान दिन नभएर विद्यार्थीको चरित्र, मानसिकता र भविष्य निर्माणमा योगदान पुर्याउँछन् । यो दिवस शिक्षकहरूको भूमिकालाई मान्यता दिन र शिक्षा क्षेत्रमा नयाँ नीतिहरू तथा अभ्यासहरूमा सुधार ल्याउन सहयोग पुर्याउँछ । विशेष गरी कोभिड महामारी जस्ता चुनौतीपूर्ण समयमा पनि शिक्षकहरूले सिकाइ निरन्तरता दिने योगदानलाई राष्ट्रिय तथा विश्वस्तरमा सम्मान गर्ने अवसर हो ।
विश्व शिक्षक दिवस विभिन्न देशहरूमा फरक फरक तरिकाले मनाइन्छ, प्रत्येक देशको आफ्नो सांस्कृतिक र ऐतिहासिक पृष्ठभूमि अनुसार :
भियतनाम : नोभेम्बर २० मा राष्ट्रिय शिक्षक दिवस मनाइन्छ । विद्यार्थीहरूले आफ्ना शिक्षकलाई घरघरमै पुगेर फूल र उपहार दिन्छन्, शिक्षकलाई भोज र घुम्न लैजान्छन्, र पूर्वविद्यार्थीहरू पनि विद्यालयमा भेला हुन्छन् ।
भारत : सेप्टेम्बर ५ मा प्राचीन परम्परा अनुसार शिक्षक दिवस मनाइन्छ, जुन भारतका दोस्रो राष्ट्रपतिको नाममा स्थापित छ। विद्यार्थीहरूले शुभकामना कार्ड, फूल र परिकारहरू दिइरहेका हुन्छन्, सांस्कृतिक कार्यक्रमहरू समेत आयोजना हुन्छन् ।
इन्डोनेशिया : नोभेम्बर २५ मा राष्ट्रिय शिक्षक दिवस हुन्छ जहाँ शिक्षक र विद्यालयकर्मीको सम्मान गरिन्छ र अभिभावकहरूले पनि शिक्षकलाई आभार व्यक्त गर्छन् ।
थाइल्याण्ड : जनवरी १६ मा राष्ट्रिय शिक्षक दिवसमा विद्यालयहरूमा विदा हुन्छ र शिक्षकहरूले आराम गर्ने मौका पाउँछन्, यस दिन शिक्षकलाई विशेष सम्मान दिइन्छ ।
अस्ट्रेलिया : अस्ट्रेलियामा अक्टोबर महिनाको अन्तिम शुक्रबार राष्ट्रिय शिक्षक दिवस मनाइन्छ, जहाँ शिक्षकलाई विद्यालय, विद्यार्थी र अभिभावकहरूले सम्मान गर्छन् ।
अमेरिका : मे महिनाको पहिलो पूर्ण साताको मंगलबार राष्ट्रिय शिक्षक दिवस मनाइन्छ र त्यो साता शिक्षकहरूको सम्मानमा विभिन्न कार्यक्रम आयोजना हुन्छ ।
चिली : अक्टोबर १६ मा शिक्षक दिवस मनाइन्छ । विद्यार्थीहरूले शिक्षकहरूसँग भेटेर प्रशंसापत्र, कविता र कलाकृति प्रस्तुत गर्छन् ।
लिथुआनिया : अक्टोबर ५ मा विश्व शिक्षक दिवसको दिन विद्यालय खुल्छ तर शिक्षकले नपढाई विद्यार्थीहरूले पढाउँछन् र आदानप्रदान हुने कार्यक्रम हुन्छ ।
टर्की : नोभेम्बर २४ मा राष्ट्रिय शिक्षक दिवस हुन्छ । देशका सबै शिक्षकहरूलाई सम्मान गरिन्छ ।
मान सिंह धामी (औल्लेकी)
उप-प्राध्यापक
कैलाली बहुमुखी क्याम्पस धनगढी
मालिकार्जुन गाउँपालिका हुनैनाथ – ४ गाेठ्युडी (काेटबुङ्गा), दार्चुला

Leave A Reply

Your email address will not be published.