काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक यही कात्तिक १३ गते बस्ने गरी स्थगन गरिएको छ । शनिबार ९कात्तिक १० बिहान ११ बजे बस्ने गरी डाकिएको बैठकमा पूर्वकेन्द्रीय सदस्य एवं पूर्वसांसद ऋषिकेश गौतमको निधनमा श्रद्धाञ्जली अर्पण गरिएको थियो । त्यसपछि बैठक उक्त दिन बस्ने गरी सकाइएको हो ।
कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा १० एजेन्डा राखिएको छ । तर, मूल बहस विशेष महाधिवेशनमा जाने कि नियमित गर्ने भन्नेमा केन्द्रित छ ।
केन्द्रीय समिति बैठकअगावै ५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशनको प्रस्ताव दर्ता गराएका छन् । तर, विशेषका प्रस्तावकले नै हाल शीघ्र नियमित महाधिवेशन भनिरहेका छन् ।
संस्थापनइतर पक्ष शीघ्र नियमित महाधिवेशनको पक्षमा उभिएको छ । संस्थापन पक्षले भने आकस्मिक रूपमा महाधिवेशन नहुने भन्दै न्यूनतम ६ महिना समय राख्नुपर्नेमा जोड दिइरहेको छ ।
संस्थापन पक्षले हाल हस्ताक्षर गरेका महाधिवेशन प्रतिनिधिको वैधानिकता गएको असोजमै सकिएको तर्क गरिरहेको छ । केन्द्रीय समितिले आफ्नो म्याद नथप्दासम्म उनीहरूको पनि वैधानिकता नथपिने संस्थापन पक्षको जिकिर छ । यही विवादले केन्द्रीय समितिमा महाधिवेशन तालिका समेत प्रवेश गराउने अवस्था बनेको छैन ।
संस्थापनइतर पक्षले मंसिरमै वा बढीमा एक महिना थपेर नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने भनिरहेको छ । संस्थापन पक्षले भने ६ महिनापछि सारेर महाधिवेशन गर्नुपर्नेमा जोड दिइरहेको छ ।
संस्थापन पक्ष प्रतिनिधिसभाको विघटन असंवैधानिक भएकाले अदालतको आदेशबाट पुनर्स्थापित हुन्छ भन्नेमा छ । त्यसो भएमा वर्तमान सरकार ढल्ने संस्थापन पक्षको भनाइ छ । त्यसपछि पार्टीको नेतृत्वमा सरकार बन्ने भन्ने संस्थापन पक्षको विश्वास छ । त्यसैले संस्थापन पक्षले महाधिवेशनका निम्ति हतार गरेको छैन ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने जारी केन्द्रीय समिति बैठकबाट नियमितको मिति तय नभए विशेष महाधिवेशन हुने बताउँदै आएका छन् ।