काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विपिन जोशी नेपाली आमाको छोरा भएको बताएकी छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै प्रधानमन्त्री कार्कीले विपिन जन्म दिने आमाको मात्रै नभइ सिंगो नेपाली र प्रत्येक नेपाली आमाको छोरा भएको बताइन् । उनले भनिन्– ’हामीलाई त लाग्छ नि, विपिन एउटा नेपाली छोरो, हामी सबैको हो । प्रत्येक नेपाली आमाको छोरो ।’ उनले हमासको आक्रमणमा पर्ने बेलामा विपिनसहित नेपाली युवाहरूलाई परेको दु:ख र संघर्ष हामीले यहाँ बसेर अनुभव गर्न नसकिने उनको धारणा राखेकी थिइन् ।
सोमबार दिउसो विपिनको शव काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेपछि सरकारको तर्फबाट श्रद्धाञ्जली अपर्णको कार्यक्रम गरिएको थियो ।
प्रधानमन्त्री सुशिला कार्कीसहित मन्त्रीहरुले विपिन जोशीप्रति अन्तिम श्रद्धाञ्जली दिएका थिए । सो अवसरमा प्रधानमन्त्री कार्कीसहित गृहमन्त्री ओमप्रकाश अर्याल, उर्जामन्त्री कुलमान घिसिङ, सञ्चारमन्त्री जगदीश खरेलसहित उच्च पदस्थहरुले विपिनलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
आजै विपिनको शव धनगढी लगिने भएको छ । धनगढीबाट विपिनको शव कञ्चनपुरको भिमदत्तनगरपालिकास्थित उनको घर लगिने छ । कञ्चनपुरमै उनको अन्तिम दाह संस्कार गरिने बताइएको छ ।
इजरायलले आइतबार औपचारिक रुपमा बिदाइ गर्दै विपिनको शव नेपाल पठाएको हो । इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने सहमति अनुसार हमासले विपिनको शव असोज २७ गते इजरायली सेनालाई हस्तान्तरण गरेको थियो । डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएपछि इजरायली सेनाले आज नेपाल फर्काउने तयारी गरेको हो । इजराली सेनाले हमासले विपिनको हत्या, अपहरण गरेको केहि महिनामै गरेको बताएको छ ।