विपीन जोशीप्रति कांग्रेसले गर्‍यो श्रद्धाञ्जली व्यक्त

काठमाडौं । नेपाली कांग्रेसले प्यालेस्टाइनी समूह हमासले बन्धक बनाएको अवस्थामा मृत्यु भएका कञ्चनपुरका विपीन जोशीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज शोक विज्ञप्तिमार्फत जोशीको असामयिक निधनले सम्पूर्ण नेपालीलाई स्तब्ध तुल्याएको उल्लेख गर्दै उनीप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

जोशी सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत दुई वर्षअघि अध्ययनका निम्ति इजरायल गएका थिए । उनी सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणका क्रममा बन्धक बनाइएका थिए ।

त्यसयता उनको सकुशल रिहाइका निम्ति नेपाल सरकार, अन्तर्राष्ट्रिय समुदाय र मानवअधिकारवादी संघ–संस्थाबाट निरन्तर कूटनीतिक पहल गरिएको थियो । उनको परिवारले समेत सक्रिय प्रयास जारी राखेको थियो ।

आजै महाकाली नदीको भुजेलाघाटमा राष्ट्रिय सम्मानसहित उनको अन्त्येष्टि गरिएको छ । रासस

विपीन जोशी : गाजामा मारिए, महाकालीमा बिलाए

Leave A Reply

Your email address will not be published.