तिहार विशेष : सिमावारी सुनसान सिमापारी धुमधाम

नुनदेखि सुनसम्म नेपाली धार्चुला बजारमा निर्भर

ललित सामन्त ।  जिल्ला सदरमुकाम खलंगासंग जोडिएको भारतको पिथौरागडस्थित धार्चुला बजारमा नेपाली ग्राहकको घुइँचो लाग्ने गरेको छ । विशेषगरी अहिले तिहारको समाग्री किन्नका लागि नेपाली ग्राहकहरु यतिबेला भारतीय बजार धार्चुला पुग्ने गरेका छन् ।

गएको केही दिन यतादेखि भारतीय बजार धार्चुलामा नेपाली ग्राहक बढेको व्यापारीहरुले बताएका छन् । तिहारका लागि आवश्यक सामग्री खरीद गर्नका लागि नेपाली ग्राहकहरु भारतीय बजार धार्चुला पुग्ने गरेको स्थानीयहरुले बताएका छन ।

तिहारमा आवश्यक पर्ने सामग्रीहरु भारतीय बजारमा सस्तो पाइने भएकाले आफूहरु सामग्री किन्न धार्चुला पुगेको दार्चुलाका स्थानीय संन्जय ठगुन्नाले बताए । नेपाली ग्राहकमा निर्भर रहेको भारतीय बजार धार्चुला तिहारको समयमा चहलपहल बढेको छ ।

अन्य समयमा खासै चहलपहल नभएपनि तिहारको समयमा धार्चुला बजारमा ग्राहकको संख्या बढ्ने गरेको व्यवपारी नारायण दाहालले जानकारी दिए । तिहारको सामग्री किन्नका लागि आजभोलि दैनिक सैयौं ग्राहक भारतीय बजार धार्चुला पुग्ने गरेका छन ।
भारतीय बजार धार्चुलामा तिहारलाई लक्षित गर्दै यहाँका सानाठूला पसल तथा सपिङ सेन्टरसम्मले विभिन्न अफर र छुटसहित सामान बिक्रीमा राखेका छन् । साँझको समयमा यहाँका सडकछेउ र फुटपाथमा पनि तिहारका सामान सजाइएको देख्न सकिन्छ । जहाँ ग्राहकको घुइँचो देख्न सकिन्छ ।
नुन देखि सुनसम्म धार्चुला बजारमा निर्भर
नदी वारि नेपालको अन्तिम हिमाली दार्चुलाको खलंगा बजार छ भने पारि भारतको धार्चुला बजार छ । दार्चुलाबासी नुनदेखि सुनसम्म धार्चुला बजारमा नै निर्भर छन् । खलंगा बजारका व्यापारीहरुलेसमेत पारी धार्चुलाबाटै सामान ल्याएर व्यापार गर्ने गरेका छन् ।
यहाँका स्थानीय दुई पैसा भएपनि कम मूल्यमा सामान पाइन्छ भनेर सीमा पारीको धार्चुला बजार नै धाउने गरेका छन् ।

दैनिक सयौंको संख्यामा दार्चुलाका बासिन्दा किनमेलका लागि धार्चुला लाग्छन् । ‘वारि नेपालमा ९० रुपैयाँ किलोमा पाइने चिनी पारि भारतको धार्चुलामा ७० रुपैयाँमै पाइन्छ,’ दार्चुला एक स्थानीयले भने, ‘त्यसैकारण नेपालीहरु सस्तोका लागि भएपनि पारि नै जाने गरेका छन् । ’घरायसी सामान होस वा अन्य सामनाका लागि धार्चुलानै जाने गरेको एक स्थानीय महिलाले बताइन् ।

‘चिनी लिनका लागि त पारि पुग्छन् भने अरु सामान त कुरौ छोडौं,’ उनले भनिन्, ‘हामी त खलंगा बजार नगई सोझै धार्चुला बजार आउँछौ । खलंगा बजारमा महंगो पर्छ सामानको यता सस्तोमा पाइन्छ ।’ दुई रुपैयाँ सस्तो् भएपनि धार्चुला नै धाउने गरेको उनको भनाई छ ।

उनका अनुसार पहिले बाटो नहुँदा घर निर्माणका सामग्रीसमेत पारि धार्चलाबाटै आउँथे । अहिले बाटो बनेपछि भने निर्माणका सामग्री नेपालबाट ल्याउने गरिएको छ । स्थानीयले अन्य सामान भने अझै पनि धार्चुलाकै बजारबाट ल्याउने गरेको स्थानीय बताउँछन् ।

Leave A Reply

Your email address will not be published.