जेन जी आन्दोलनमा क्रूरतापूर्वक मारिए दार्चुलाका प्रहरी जवान थापा, आमाको कोख रित्तियो: पुष्पाको सिउदो पुछियो
निर्मलाको कोख रित्तियो: कान्छो छोरा गुमाएको ६ महिनामा जेठो छोरा मारिए
काठमाडौं । भदौ २३ र २४ गते भएको विध्वंसकारी जेन–जी आन्दोलनमा तीन जना सुरक्षाकर्मीको क्रूरुरतापूर्वक हत्या गरियो । तीमध्ये एक थिए प्रहरी जवान उत्तम सिंह थापा ।
सानैदेखि राष्ट्रको सेवा गर्ने लक्ष्य र सपना सजाएका उत्तम विगत ९ वर्षदेखि प्रहरीमा सेवारत थिए । जेन–जी आन्दोलनका दिन प्रदर्शनकारीकै सुरक्षाका लागि खटिएका थिए उनी । आन्दोलनको पहिलो दिन सुरुवातमा सामान्य अवस्था भए पनि दिउँसोतिर प्रदर्शनकारीहरू बानेश्वरस्थित संघीय संसद भवन छिर्न खोज्दा अशान्ति भयो ।
सुरक्षाकर्मीहरूले बल प्रयोग गरे । घटना स्थलमा युनिफर्ममा रहेका कलिला विद्यार्थीदेखि युवाहरु गोली लागेर ढले । जेन–जीले पहिलो दिनको आक्रोश दोस्रो दिन प्रहरीमाथि नराम्रोसँग पोखे । कतै प्रहरीहरूलाई बर्दी फुकालेर कैदीहरू जसरी लाइनमा उभ्याइयो, कतै खोलामा नाङ्गै लखेटियो । कतिलाई क्रूरतापूर्वक पिटियो ।
जेन–जीहरूले उत्तमलाई रड, लाठी, बासको चिर्पटले ताकी–ताकी टाउकोमा रगताम्य हुँदासम्म प्रहार गरेका थिए । सुरुमा उनको बर्दी निकालियो । सुरक्षाका लागि उनीसँग भएका हतियार खोसियो र टाउको रड हानियो ।
उनी रगताम्य भएर भुइँमा ढल्दा पनि जेन–जीहरूले छोडेनन् । रोडमा घिसारी–घिसारी कुटपिट गरे । उक्त भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो । यद्यपि उक्त भिडियो अहिले सामाजिक सञ्जालबाट हटाइएको छ ।
पछि सुरक्षाकर्मीहरूले उपचारका लागि अस्पताल पुर्याए पनि उनलाई बचाउन भने सकिएन । उनकी आमा निर्मलादेवी पुजाराको काख रित्तिएको छ भने श्रीमती पुष्पा भट्टराईले सहारा गुमाएकी छन् । निर्मलाले ६ वर्ष पहिला श्रीमान् गुमाएकी थिइन् भने ६ महिना अगाडि मात्रै कान्छा छोराको मृत्युशोक खेप्नुपरेको थियो ।
जेठो छोरा (उत्तम सिंह थापा) कै सहारामा रहेकी निर्मलामाथि जेन–जी आन्दोलन नसोचेको बज्रपात बन्यो । अहिले चाडपर्वको समयमा उनको परिवारमा अँध्यारो छाएको छ । सधैँका लागि परिवारको आधारस्तम्भ गुमेको उत्तमका काका ईश्वर सिंह थापा बताउँछन् । ‘उत्तमले घर–परिवार चलाइरहेको थियो, उसको निधनले परिवारको बिचल्ली भएको छ,’ उनले भने । त्यतिबेला घरबाट आमा र श्रीमती आउन नसकेपछि प्रहरीको सहयोगमा अन्तिम दाहासंस्कार आफैँले गरेको ईश्वरले बताए ।
देशभरिको विध्वंसात्मक आन्दोलनले घरबाट आफन्त आउन सकेका थिएनन् । म पनि बाहिर निस्किने अवस्था भएन । लट्ठी, रड, बासको चिर्पटले प्रहार गरेर टाउको क्षत विच्छेद भएकाले परिवार आउँदासम्म लास राख्ने परिस्थिति भएन । अन्तिममा मैले नै दाहासंस्कार गरेँ । सबै व्यवस्थापनि प्रहरीले नै गर्यो ।’उनले भने एउटा सुरक्षाकर्मीले आफ्नो कर्तव्य निभाउँदा उनीहरूमाथि नै आक्रमण हुन्छ भने यो देशमा कतिसम्मको घुसपैठ हुन्छ रु सुरक्षाकर्मीको मनोबल कति गिरेको होला ?’
सुरक्षाकर्मीहरूको मनोबल बढाउन सरकारले पनि पहल गर्नुपर्ने उनको भनाइ छ । ‘सुरक्षाकर्मीहरूले पनि घर–परिवार पाल्नुपर्ने हुन्छ । अहिले तय गरेको रकमले महँगीमा जीवनयापन गर्न मुस्किल हुन्छ । त्यसैले सुरक्षाकर्मीहरूको सरकारले तलब बढाइदिनुपर्छ,’ उनले भने ।
थापाको हत्यामा संलग्न तीन जना अहिलेसम्म पक्राउ परिसकेका छन् । तेस्रो अभियुक्त २१ वर्षीय सोमबहादुर गुरुङ सोमबार पक्राउ परेका हुन् ।
नेपाल प्रेस
महाराजगञ्जका दुई प्रहरी हत्यामा संलग्न आरोपमा अर्का एक युवक पक्राउ