दाङ । जेनजी आन्दोलनका क्रममा काँग्रेस लुम्बिनी प्रदेशका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीको घर लूटपाट र आगजनीमा कांग्रेसकै कार्यकर्ता समेत संलग्न रहेको खुलेको छ ।
नेपाली काँग्रेस तुलसीपुर उपमहानगर समितिका सदस्य अनिल रिजाल चौधरीको घर तोडफोड गरेर बाहिरिदै गरेको तस्वीर सार्वजनिक भएपछि उनको संलग्नता देखिएको हो । असोज २४ गतेको जेनजी आन्दोलनको नाममा चौधरीको घर जलिरहँदा घाँटीमा राष्ट्रिय झन्डा भिरेका रिजाल घरको पर्खालको भित्री भागबाट बाहिर हेरेर क्यामेरामा पोज दिएको तस्वीरमा देखिन्छ ।
चौधरी कांग्रेसको तर्फबाट संघमा श्रम तथा रोजगार राज्यमन्त्री र लुम्बिनी प्रदेशको मुख्यमन्त्री भइसकेका नेता हुन् । उनको घरमा करिब डेढ करोड बराबराको क्षती भएको र करिब १२ तोला सुन लुटिएको मुचुल्का प्रहरीले बनाएको छ ।
रिजाल चौधरीको घर जलाइनु अघि एमाले तुलसीपुर नगर कमिटिको कार्यालय आगजनी र तोडफोडमा समेत संलग्न भएको पाइएको छ । रातो क्याप टोपी र कालो टिसर्ट लगाएका उनी एमाले पार्टी कार्यालय आगजनी र तोडफोडमा संलग्न भएको भिडिओ र तस्वीर पनि सार्वजनिक भएका छन् ।
घटना पश्चात उनी केहि समय काठमाडौं लुकेर बसेका थिए । केहि दिन अघि दाङ आएका उनले आगजनीमा संलग्न भएको फोटो सामाजिक संजालमा राख्नेलाई धम्की दिन थालेका छन् । उनको तस्वीर सामाजिक संजालमा राखेका एकजनाले रिजालले कुटपिट गर्ने धम्की दिएको नेपाल प्रेसलाई जानकारी दिए ।
‘झरिजालले मलाई मेरो बदनाम हुने फोटो किन राखेको भन्दै मलाई कुटपिट गर्ने धम्कि दिएका छन् । यसबारेमा मैले सुरक्षा निकायमा जानकारी गराइसकेको छु ।’ उनले भने ।
कांग्रेसका तुलसीपुर नगर सभापति सुरेस हमालले चौधरीको घर तोडफोडमा संलग्न रिजाल नगर सदस्य भएको पुष्टि गरेका छन् ।
हमालले भने, ‘झडिल्ली चौधरीको घर तोडफोडमा देखिएका अनिल रिजाल नगर समिति सदस्य हुनुहुन्छ । आफ्नै नेताको घर तोडफोड गर्न जान हुँदैनथ्यो ।’