दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा- ३मा अवस्थित शिखर धुरामा आउदो सोमबार लाग्ने पूजन जात्रामा मोबाइल फोन लगायत विभिन्न बस्तुमाथि प्रतिबन्ध लगाइएको छ ।
सोमबार (आज) मालिकार्जुन विकास समितिको बैठकले कात्तिक शुक्ल त्रयोदशीका दिन लाग्ने पूजन जात्रामा मोबाइल फोन लगायत अन्य विभिन्न बस्तुमाथि प्रतिबन्ध लगाएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
बैठकले कार्तिक १७ बिहानदेखि सुरू हुने पूजनजात्रामा सहभागि हुने भक्तजनहरुलाई मोबाइल फोन लगायत विभिन्न बस्तुमाथि प्रतिबन्ध लगाइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा (मुखिया ) धिरेन्द्र सिह धामीले जानकारी दिए ।
अध्यक्ष धामीका अनुसार शिखर धुरामा जादाँ आफुसंग रहेको मोबाइल फोन, लेदर बेल्ट,एवंम अन्य पर्सहरुमाथि प्रतिबन्ध लगाइएको उनले बताए । यस्तै बैठकले सिसाका बोतल,भाडा तथा पालाष्टिकजन्य बस्तुहरुमाथि पनि प्रतिबन्ध लगाइएको मालिकार्जुन विकास समितिले जनाएको छ ।
गत असार शुक्ल चतुर्दशीका दिन लागेको शिखरजात्रामा भक्तजनहरुले शिखरधामा पुगेर रास्वपा सभापति रविलामिछाने लाई कारागारमुक्त गराउपर्ने भन्दै भक्तिभाव प्रकट गरेका थिए ।
प्रसिद्धधाम शिखर धुरामा पुगेर यसप्रकारको हर्कत देखिएपछि सामाजिक संञ्जालमा चर्को आलोचना भएको थियो । त्यसकै फलस्वरुप अहिले मन्दिर व्यवस्थापन समितिले पनि मोबाइल फोन लगायत अन्य विभिन्न बस्तुमाथि प्रतिबन्ध लगाइएको जनाएको छ ।
मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाको सीमा क्षेत्रमा पर्ने शैल्यशिखर धामको पूजन जात्रा हेर्न सुदूरपश्चिम प्रदेशको दार्चुला, बैतडी, डडेलधुरा बझाङ कैलाली, कञ्चनपुरलगायत भारतको उत्तराखण्ड धार्चुला डिडिहाट मुन्स्यारी, पिपली, अस्कोट चम्पावत र पिथौरागढबाटसमेत श्रद्धालु भक्तजन आउने गर्छन् ।
पवित्र मनले शैल्यशिखरको दर्शन गर्नाले पुण्य मिल्ने, खासगरी नि:सन्तालाई सन्तान सुख प्राप्त हुने र मनोकामना पूरा हुने जनविश्वास रहेको छ । हिन्दू धर्मावलम्बीको आस्थाको धरोहर मानिने शैल्यशिखर धामको दर्शन गर्न विवाहित महिला तथा ब्रतबन्ध गरेका पुरुषले एक महिना अर्थात् १५ दिन अगाडिदेखि नै शुद्ध भएर एक छाक खान खाएर पवित्र मनले शिखर जात्राको यात्रा गर्नुपर्ने जनविश्वास रहेको छ । आउँदो सोमबार शिखर धाममा पूजन जात्रा सकिएपश्चात् भोलिपल्ट मंगलबार अर्थात् कार्तिक १८ गते मालिकार्जुन मन्दिरमा राति भव्य मेला लाग्ने गर्दछ ।