दार्चुला प्रशासनले भन्यो- रात्रीकालीन जात्रा शान्तपूर्वक रुपमा मनाउनू ,सूचना सहित

दार्चुला।  जिल्ला प्रशासन कार्यालय दार्चुलाले जिल्लाको लेकम क्षेत्रमा संञ्चालनमा रहेका रात्रीकालीन जात्राहरुलाई शान्तीपूर्वक रुपमा मनाउन भनेको छ । मंगलबार (आज )प्रमुख जिल्ला अधिकारी अनिल पौडेल द्धारा जारी गरिएको सूचना अनुसार रात्रीकालीन जात्राहरुलाई शान्तीपूर्वक रुपमा मनाउन भनेको हो । विशेषगरी प्रशासनले कार्तिक १३ गते र १८ गते राती लाग्ने रात्रीकालीन जात्रालाई सुरक्षित एवं मर्यादित रुपमा मनाउन भनेको छ ।

कार्तिक १३ पर्सि विहिबार राती जिल्लाको लेकम गाउँपालिका वडा ५मा रहेको जयपुर जात्रा र कार्तिक १८ गते मालिकार्जुन जात्रालाई शान्तपूर्वक रुपमा प्रशासनले आग्रह गरेको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।

प्रशासनले सूचना मार्फत विभिन्न आचार संहिता,सर्तहरु समेत सार्वजनिक गरेको छ । आचार संहिता,सर्तहरु पालना नगरको पाइएमा कानुन अनुसार कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।

जात्राको दिन जाडसक्सीमादक पदार्थको विक्री वितरण नगर्न भनेको छ । यस्तै जात्रा मनाउन मन्दिर जाने भक्तजनहरुले मादक पदार्थ लगायत लागु पदार्थको सेवन गरेको भेट्टिएमा कारबाही गर्ने प्रशासनले जनाएको छ ।

यस्तै घरेलु हातहतियार कानुनले बर्जित गरेका हातहतियार साथमा लिएको पाइएमा पनि कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ । जात्रास्थलमा होहल्ला झैझगडा गाली गौलौच गर्न नपाईने भएको छ ।

जिल्लाको लेकम गाउँपालिका वडा -५ जयपुरस्थित लटिनाथ मन्दिरमा नवमीको रातभरी जात्रा लाग्ने गर्दछ । जयपुर जात्रामा दार्चुलाका मात्रै नभएर विभिन्न जिल्लाका दर्शनार्थीहरु पुगेका छन् ।

जात्रामा पूजाआजासंगै खेलहरु खेल्ने, दामाहा लगायत बाजागाजाहरु बजाउने र रमाइलो गरेर जात्रा मनाउने गर्दछन् । लटिनाथ मन्दिरको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । जयपुर जात्रामा व्यापारीहरुले लाखौको व्यापार गर्ने गरेका छन । हजारौ मानिसहरुको उपस्थिति रहने जात्रामा रातभरी दामाहा बजाउने, डेउडा खेल्ने, ठाडो खेल, ढुस्को, धुमारी लगायतका स्थानीय लोक संस्कृतिहरु समेत प्रस्तुत गर्ने गरिएको छ ।

जिल्लाको प्रमुख धार्मिकस्थल मालिकार्जुन मन्दिरको रात्रीकालीन जात्रा दर्शन गर्न सुदूरपश्चिमभर तथा मित्रराष्ट्र भारतको उत्तराखण्ड राज्यका मानिसहरु आउने गरेका छन् । रात्रीकालीन जात्राको अघिल्लो दिन अर्थात् कार्तिक शुक्ल त्रयोदशीका दिन शिखर धुरामा पूजन जात्रा लाग्ने गर्दछ ।

रात्रीकालीन जात्राको आवश्यक तयारी अन्तिमचरणमा रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । जात्रा अवधिभर उक्त क्षेत्रमा मदिरा सेवन, बिक्री, बितरण, जुवा तास खेल्न खेलाउन पुर्णतया रोक लगाइएको व्यवस्थापन समितिले पनि जनाएको छ । जात्रामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सादा पोशाकका अन्य सुरक्षाकर्मी पनि परिचालन गरिने छ । यो वर्षको मालिकार्जुन जात्रा कार्तिक १८ गते मंगलबार राती लाग्दैछ ।

Leave A Reply

Your email address will not be published.