समाजसेवी एवम परोपकारी अग्रज व्यक्तित्व आदरणीय हजुरबुवा (बाजे) गगन साउद ज्युलाइ जन्मदिनको अवसरमा सु–स्वास्थ ,दिर्घायुको कामना गर्दछु।
आज हजुरको यो विशेष दिनमा हाम्रो गाउ समाजको विकास, उन्नति , प्रगति को लागी हजुरले निस्वार्थ रुपमा गर्नु भएको योगदान र उक्त प्रशसनिय कार्यको उच्च सम्मान सहित नमन गर्दै हार्दिक धन्यवाद व्यक्त गर्दछु । र हजुरको बारेमा केहि कुरा राख्ने अनुमति चाहन्छु ।ब
गगन साउद लेकम गाउँका एक सम्माननीय, सरल ,सज्जन र समाजसेवी व्यक्तित्व हुनुहुन्छ । गाउँकै एक सामान्य परिवारमा जन्मनु भएका उहाँ बाल्यकालदेखि नै गाउँमै हुर्किनु भयो र शिक्षित, जिम्मेवार तथा आदर्श नागरिकका रूपमा आफूलाई स्थापित गर्न सफल हुनुभयो। हाल उमेरले उहा आफ्नो जीवनको उत्तरार्धतिर करिब ७३ वर्ष को हुनुहुन्छ ।
उहाँले आफ्नो सम्पूर्ण जीवन गाउँ र समाजको हितका लागि समर्पित गर्नुभएको छ। वि.सं. २०४९ तिर बहुदल व्यवस्था स्थापना भएपछि उहाँ गाउँको पहिलो निर्वाचित वडासदस्य बन्नुभयो। त्यसपछि उहाँले वडा अध्यक्षको रूपमा पनि जिम्मेवारी सम्हाल्दै गाउँको समग्र विकास र जनहितका काममा अग्रणी भूमिका निभाउनुभयो ।
गाउँको सार्वजनिक व्यवस्थापन, सामाजिक मेलमिलाप, शान्ति र सहकार्यका कार्यहरूमा उहाँ सधैं अग्रपंक्तिमा रहनुहुन्छ। उहाँको नेतृत्व र सक्रियताले गाउँमा एकता, सद्भाव र सामूहिक भावना मजबुत भएको छ। वि.सं. २०४९ देखि करिब २०७२ सम्म उहाँले बडिपुर माध्यमिक विद्यालय व्यवस्थापन समितिको सदस्यका रूपमा काम गर्नुभयो। त्यसको साथसाथै उहाँले वि स २०५२/५३ साल तिर श्री हुनैनाथ आधारभूत विद्यालयका अध्यक्षका रूपमा स्थापना कालदेखि हालसम्म विद्यालय व्यवस्थापन र निर्माणमा निरन्तर योगदान दिइरहनुभएको छ ।
उहाँले यो विद्यालयका लागि आफ्नो निजी जग्गा निःशुल्क दान गर्नुभएको छ, जुन उहाँको दूरदृष्टि, शिक्षाप्रतिको समर्पण र समाजसेवाको उत्कृष्ट उदाहरण हो। उहाँको पहल र नेतृत्वमा विद्यालयका भवन, पर्खाल, शौचालय र अन्य भौतिक संरचनाहरू निर्माण सम्पन्न भएका छन् ।
त्यसका साथै मठ मन्दिर निर्माण ,गाउमा बाटोघाटो ,पानी पधेरो ,चौतारो निर्माण गर्नुको साथै गाउँको मन्दिर समितिमा पनि लामो समयसम्म अध्यक्ष ,सदस्य तथा पदाधिकारीका रूपमा रहँदै उहाँले धार्मिक, सांस्कृतिक र सामुदायिक एकताको संरक्षणमा उल्लेखनीय योगदान दिनुभएको छ ।
गाउँमा कुनै विवाह, ब्रतबन्ध, पर्व–उत्सव मा त्यसको व्यवस्थापन गरी सफलता पुर्वक सम्पन्न गाउसमाजको मान र प्रतिष्ठा उच्च राख्नु भएके छ । गाउ समाजमा संकटको बेला उहाँ सधैं सहयोगका लागि अगाडि रहनुहुन्छ — चाहे त्यो आर्थिक सहयोग होस् वा व्यवहारिक सल्लाह। उहाँको निःस्वार्थ सेवा भावना, व्यवहारिक सोच र मानवीय मूल्यप्रतिको आस्था असाधारण छ ।
गाउँलेहरू उहाँलाई साइनो अनुसार नामले भन्दा पनि “सदस्य काका ,सदस्य बाबा वा सदस्य दाइ” भनेर आदरपूर्वक सम्बोधन गर्छन्। सरल, शान्त, व्यवहारिक र अत्यन्त सहयोगी स्वभाव भएका कारण उहाँ साँच्चिकै असल अभिभावक समाजसेवीको रूपमा गाउँलेको मनमा बसेका छन् । गाउँ–समाजका हरेक विकास र निर्माणको इतिहास बुझ्न खोज्ने जो–कोहीले पनि उहा (गगन साउद) को नाम पहिलोपटक स्मरण गर्छन् । उहाँ साँच्चिकै गाउँका लागि मार्गदर्शक, प्रेरणादायी र आदर्श समाजसेवी व्यक्तित्व हुनुहुन्छ ।
लेखक : सुन्दरसिंह साउँद
ठेगानाः लेकम गाउँपालिका–०१, सर्मोली, दार्चुला