महाकाली नगरपालिका वडा–५ को वडा कार्यालय भवन उद्घाटन

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयको भवन उद्घाटन गरिएको छ । बुधबार वडा ५ गल्फैमा नवनिर्मित आधुनिक सुविधासहितको वडा कार्यालयको भवन उद्घाटन गरिएको हो ।

नगरपालिका र प्रदेश सरकारको संयुक्त लगानीमा गत आर्थिक बर्षको बजेट मार्फत वडा कार्यालयको सुविधा सम्पन्न भवन निर्माण गरिएको वडा कार्यालयले जनाएको छ ।

नगरपालिकाको ४७ लाख ५० हजार र प्रदेश सरकारको ४७ लाख ५० हजार (सम्पुरक बजेट) गरि कुल ९५ लाख रुपैँयामा भवन निर्माण सम्पन्न भएको वडा अध्यक्ष दिलेन्द्र राज अवस्थीले जानकारी दिए । गत असारमा निर्माण सम्पन्न भएको भवनको एक कार्यक्रमका बिच उद्घाटन गरिएको उनले बताए । वडा अध्यक्ष दिलेन्द्र राज अवस्थीको अध्यक्षतामा भएको भवन उद्घाटन समारोहमा नगरप्रमुख नरसिंह चैसिरको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै समारोहमा नगर–उप प्रमुख दुर्गा खत्री विष्ट, निमित्त प्रमुख प्रशासकीय अधिकृत इश्वरी ठगुन्ना, नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष, वडा नम्बर ५ का निर्वतमान वडा अध्यक्ष तोरण प्रसाद अवस्थी, निर्माण व्यवसायी संघका अध्यक्ष सर्पराज बडू, खलगां खानेपानी उपभोक्ता समितिका अध्यक्ष जयदेव जोशीलगायत अन्य जनप्रतिनिधि, नगरपालिकाका शाखागत कर्मचारी र स्थानीय नागरिकको सहभागिता रहेको थियो ।

आठ वर्षदेखि भाडाको घरमा बस्दै आएको वडाको गल्फैमा नयाँ भवन निर्माण भएको बताइएको छ । आधुनिक सुविधा र सेवा–मैत्री दृष्टिकोणका साथ निर्माण गरिएको भवनले वडा बासीलाई समयमै गुणस्तरीय सेवा प्रदान गर्न थप सहज हुने वडा अध्यक्ष अवस्थीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.