बैतडी । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि बैतडीमा दलहरूले प्रचार–प्रसार तीव्र पारेका छन् । एकमात्र प्रतिनिधिसभा क्षेत्र रहेको वैतडीमा ११ जना उमेदवार चुनावी मैदानमा छन् ।
पूर्वमन्त्रीदेखि नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्षसम्म चुनावी मैदानमा छन् । नेकपा (एमाले)का तर्फबाट लगातार तीनपटक चुनाव जितेका पूर्वमन्त्री दामोदर भण्डारी, नेपाली कांग्रेसका तर्फबाट कांग्रेस जिल्ला सभापति तथा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट परमानन्द भट्ट, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिमोहन भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भुपेनबहादुर चन्दलगायत ११ जना चुनावी अभियानमा छन् । दुई ठूला दलका उमेदवारहरूले आफ्नै पूर्वसहकर्मीसँग प्रतिस्पर्धा गर्दै छन् ।
एमाले बैतडीका संस्थापक नेता एवं पूर्वजिविस सभापति परमानन्द भट्ट अहिले नेकपाबाट चुनावी मैदानमा छन् । उनले एमालेका केही मतदाताहरुलाई प्रभाव पार्न सक्ने आकलन गरिएको छ ।
रास्वपाका उमेदवार हरिमोहन भण्डारी ०७९ सालको प्रदेशसभा सदस्य निर्वाचनमा टिकट नपाएपछि कांग्रेस परित्याग गरी अहिले रास्वपाबाट चुनाव लडिरहेका छन् । कांग्रेसका केही मत प्रभावित हुनसक्ने आकलन गरिएको छ ।
पूर्वप्रधानमन्त्री लोकेन्द्रवहादुर चन्दको निर्वाचन क्षेत्र हो यो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आफ्नो पुरानो विरासत फर्काउने सोचमा छ । राप्रपाको तर्फबाट पूर्वप्रधानमन्त्री चन्दका छोरा भुपेनवहादुर चन्द अहिले उमेदवार छन् । विगतका निर्वाचन, अहिलेको बदलिँदो परिस्थितिजस्ता कारण कडा प्रतिस्पर्धा हुन धेरैको आकलन छ । उमेदवारहरू अहिले मतदाता भेटघाटमा व्यस्त छन् । आआफ्नो पक्षमा मतदातालाई पार्न उमेदवारहरू प्रचारप्रचार गरिरहेका छन् ।