दार्चुला । जिल्ला सदरमुकाम खलंगामा रहेको कारागार कार्यालय दार्चुलाको सुरक्षा नेपाली सेनाले सम्हालेको छ । बिहीबारदेखि जिल्ला कारागार कार्यालय दार्चुलाको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको हो ।
सदरमुकाम खलंगामै रहेको श्रीदल गुल्मबाट सहसेनानि अन्वेश गुरूङको नेतृत्वमा १० जनाको टोली कारागार सुरक्षार्थ खटिएको छ । यसअघि उक्त कारागारमा नेपाल प्रहरीको टोलीले सुरक्षा दिँदै आएको थियो । अहिले पनि तीन जना प्रहरीहरु करागारमै रहेका छन् ।
सुरक्षाका हिसाबले अति संवेदनशील मानिएका कारागार तथा महत्वपूर्ण आयोजनाहरूमा सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णयअनुसार कारागारमा नेपाली सेना खटिएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।
सोही निर्णयअनुसार दार्चुला कारागारमा पनि सेना तैनाथ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार सेनाको टोलीले जिम्मेवारी सम्हालिसकेको जानकारी दिए । उनका अनुसार सरकारको निर्देशनअनुसार आवश्यक समन्वय गरेर सुरक्षा व्यवस्थापन अघि बढाइएको बताएका छन् ।