मतदाता शिक्षाका लागि दार्चुलामा ६१ जना स्वयम् सेवक खटिदैं

फागुन ३ देखि मतदाता शिक्षा अभियान चलाइने

दार्चुला । दार्चुलामा मतदाता शिक्षाका लागि ६१ जना स्वयम् सेवक खटिदैंछन्। निर्वाचन कार्यालयले जिल्लाको ९ वटै पालिकामा सो सङ्ख्यामा मतदाता शिक्षा स्वयम् सेवक खटाउन लागेको हो। यहाँ ६१ वटा वडा कार्यालयहरु रहेका छन्।

प्रत्येक वडामा एक÷एक जना मतदाता शिक्षा स्वयम् सेवक खटाईने जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी जिल्लामा मतदाता शिक्षा कार्यक्रम सञ्चालनको तयारी गरिएको छ । निर्वाचनमा मतदाताको सहभागिता बढाउने र बदर मत घटाउने उद्देश्यले मतदाता शिक्षा कार्यक्रम सञ्चालनको तयारी गरिएको बताइएको छ ।

मतदाता शिक्षा कार्यक्रमका लागि महिला स्वास्थ्य स्वयम् सेविका, सामाजिक परिचालक लगायतमा कार्यरत महिलालाई छनोट गरिएको छ। छनोट भएका स्वमय् सेवकले लक्ष्य निर्धारण गरेर आ–आफ्नो वडामा मतदाता शिक्षा दिने जनाइएको छ।

उनीहरुले मत सदर हुने, बदर हुने अवस्थाका बारेमा जानकारी दिनुकासाथै सहि तरिकाले मतदान गर्नका लागि मतदातालाई सिकाउने निर्वाचन कार्यालय दार्चुलाका सूचना अधिकारी चित्र प्रकाश जोशीले जानकारी दिए ।

मतदातालाई मतदाता शिक्षा दिनका लागि स्वयम् सेवकले नमूना मतपत्र लिएर कार्यस्थलमा खट्ने उनले बताए । पर्सि आइतबार देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ । यसका लागि तयारी पूरा भएको पनि बताइएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!