दार्चुला — नेपाली कांग्रेसका उम्मेदवार धर्मानन्द जोशी राष्ट्रिय राजनीतिमा अपेक्षाकृत नयाँ अनुहार मानिए पनि बौद्धिक वृत्त, कानुनी क्षेत्र र समाजसेवामा भने परिचित नाम हुन्। सुदूरपश्चिमको विकट जिल्ला दार्चुलाबाट उदाएका जोशीले व्यक्तिगत संघर्ष, अन्तर्राष्ट्रिय अनुभव र सामाजिक प्रतिबद्धतामार्फत आफूलाई स्थापित गरेका छन्।
वि.सं. २०३२ साल (सन् १९७५) मा दार्चुलाको शैल्यशिखर नगरपालिका–८ पपरथलामा एक सामान्य किसान परिवारमा जन्मिएका जोशीले बाल्यकालमै कठिनाइसँग जुध्नुपरेको थियो। कक्षा ७ मा अध्ययनरत रहँदा १४ वर्षको उमेरमै घर छाडेर डेरामा बसेर पढाइलाई निरन्तरता दिएका उनले जीवनयापनका लागि विभिन्न काम गरे। डेरामा बस्न बाँझो घर लिपपोत गर्ने, गोठालो जाने, घाँसदाउरा गर्ने जस्ता कामसँगै घण्टौँ पैदल हिँडेर खोलाखोल्सी छेलिँदै विद्यालय पुग्नु उनको दैनिकी थियो। कतिपय अवस्थामा बाढीमा बग्ने जोखिमसमेत उनले झेलेका छन्। जोशीका अनुसार यो अनुभव केवल उनको व्यक्तिगत कथा नभई सुदूर दार्चुलाका धेरै बालबालिकाको साझा यथार्थ हो।
संघर्षपूर्ण बाल्यकालले उनलाई समयभन्दा पहिले परिपक्व बनायो। झुलाघाटबाट मट्टीतेल बोकेर ल्याई टुकी बालेर अध्ययन गर्ने उनी उच्च शिक्षा हासिल गर्दै कानुनमा स्नातकोत्तर बने। त्यसपछि उनी संयुक्त राष्ट्रसंघ (यूएन) मा आबद्ध भए र करिब १५ वर्षभन्दा बढी समय मानवअधिकार र द्वन्द्व व्यवस्थापनका क्षेत्रमा काम गरे। अफगानिस्तान र इराकका युद्धग्रस्त क्षेत्रमा काम गरेको अनुभवसँगै जेनेभा र न्यूयोर्कजस्ता शहरमा नीतिगत तहमा कार्य गरेको उनको अनुभव दुई दशक लामो अन्तर्राष्ट्रिय यात्राको साक्षी हो।
विदेशमा स्थापित करिअर हुँदाहुँदै जोशी अन्ततः आफ्नै गाउँ फर्किए र समाजसेवामा सक्रिय भए। उनले व्यक्तिगत पहलमा २२ लाख रुपैयाँको ‘मातृभूमि छात्रवृत्ति अक्षयकोष’ स्थापना गरेका छन्। दार्चुलाका हुनैनाथ मावि रातामाटा र गलैनाथ मावि झारकडामा ११/११ लाख रुपैयाँका अक्षयकोष स्थापना गरी त्यसबाट प्राप्त ब्याजमार्फत हरेक वर्ष पाँच/पाँच जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएका छन्। साथै उत्कृष्ट तीन/तीन जना शिक्षकलाई सम्मानसमेत गरिन्छ।
जोशीका अनुसार शिक्षा नै समाज परिवर्तनको मुख्य आधार हो। “शिक्षामा लगानी बढे समाज आफैँ रूपान्तरण हुन्छ,” उनी भन्छन्। अक्षयकोषको रकम आगामी दिनमा अझ विस्तार गर्ने योजना पनि उनले सुनाएका छन्।
शिक्षा क्षेत्रमा मात्र सीमित नभई उनले स्वास्थ्य तथा सामाजिक सहयोगका क्षेत्रमा पनि योगदान दिएका छन्। मालिकार्जुन गाउँपालिकाका संघसंस्थासँग समन्वय गरी स्थानीय अस्पतालमा १६ थान स्ट्रेचर उपलब्ध गराएका उनले संयुक्त राष्ट्रसंघमा कार्यरत नेपालीहरूसँग सहकार्य गर्दै २०७८ साउनमा तुइन तर्ने क्रममा ज्यान गुमाएका जयसिंह धामीको परिवारलाई रु १ लाख ५० हजार रुपैयाँ सहयोग जुटाएको बताएका छन।
स्वच्छ छवि र सुशासन पक्षधर समाजसेवीका रूपमा चिनिएका जोशी समाजसेवाको प्रेरणा आफ्ना अग्रजबाट पाएको बताउँछन्। उनका पितापुर्खा विष्णुदत्त जोशीले दान दिएको जग्गामा सञ्चालनमा रहेको श्री मसिना आधारभूत विद्यालयले स्थानीय बालबालिकालाई शिक्षा प्रदान गर्दै आएको छ।
राजनीतिक हिसाबले पनि जोशी सामाजिक न्यायका मुद्दामा सक्रिय रहँदै आएका छन्। सन् २००० देखि २००६ सम्म सामाजिक न्यायका लागि भएका आन्दोलनमा उनको संलग्नता रहेको बताइन्छ। अन्तर्राष्ट्रिय अनुभव, कानुनी ज्ञान र स्थानीय सरोकारप्रति प्रतिबद्धताका कारण जोशीलाई कांग्रेसभित्र सम्भावनाशील उम्मेदवारका रूपमा हेरिएको छ।
संघर्षपूर्ण जीवनयात्राबाट अन्तर्राष्ट्रिय मञ्चसम्म पुगेका र पुनः मातृभूमिमै फर्केर समाजसेवामा समर्पित बनेका धर्मानन्द जोशी अहिले राजनीतिक मैदानमा आफ्नो अनुभव र दृष्टिकोणसहित मतदातामाझ उभिएका छन्।