रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ तात्कालिन नेकपा (माओवादी)को ऐतिहासिक बैठक स्थल चुनबाङको भेरीडाँडा पुगेका छन् । प्रतिनिधि सभा सदस्यका लागि रुकुम पूर्वका उम्मेदवार प्रचण्डले मतदाता भेटघाटको क्रममा आज विहान माओवादीको केन्द्रीय समितिको बैठक स्थलको भ्रमण गरेका हुन् ।
२०६२ को असोजमा माओवादीको केन्द्रीय समितिको बैठक चुनबाङमा बसेको थियो। उक्त बैठकले लोकतान्त्रिक गणतन्त्रको प्रस्ताव पारित गरेर संसदवादी राजनीतिक दलसँग सहकार्यको बाटो खोलेको थियो । माओवादीको ९५ सदस्यीय केन्द्रीय समितिलाई ३५ जनामा झारेको थियो । त्यो बैठकलाई ऐतिहासिक मानिन्छ।
संयोजक प्रचण्डले चुनबाङ बैठक स्थल, आफू र पत्नी सीता बसेको कोठा, छोरा प्रकाश दाहाल र अन्य नेताहरू बसेको घर र कोठाको अवलोकन गरेका थिए । आफ्ना पत्नी र छोराका बारेमा राखिएका जिज्ञासामा भावुक भएका प्रचण्डले नेपाली क्रान्तिमा उनीहरूको योगदान रहेको संक्षिप्त प्रतिक्रिया दिए ।
मतदाता भेटघाट र बैठक स्थलको भ्रमणको क्रममा चुनबाङ बैठकले जनयुद्धलाई लोकतान्त्रिक गणतन्त्रमार्फत शान्तितर्फ डोर्याएको बताए । उनले रुकुम क्रान्तिको सुरुआत र गणतन्त्रमार्फत शान्ति स्थापना गर्ने जिल्ला रहेको बताए ।
प्रचण्डले आजै चुनबाङको गैरीगाउँमा मतदाता भेटघाट गर्ने छन् । प्रचण्ड मतदाता भेटघाटका लागि तीनदिनदेखि रूकुम पूर्वमा छन् ।