दार्चुलामा साढे ३ हजार भन्दा बढि विद्यार्थीले यस वर्षको एसइई परीक्षामा भाग लिने

दार्चुला । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा दार्चुला जिल्लाबाट तीन हजार ५६८ जना विद्यार्थी सहभागी हुने भएका छन् । नियमित तर्फ २ हजार ५२८ जना र ग्रेडबृद्धि तर्फ १ हजार ४० जनागरी जम्मा ३ हजार ५६८ जनाले परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाई कार्यालय दार्चुलाले जनाएको छ । परीक्षा चैत्र १९ गतेदेखि २९ गतेसम्म संञ्चालन गरिने भएको छ ।

माध्यमिक शिक्षा परीक्षा (एसइई) मा जिल्लाभरका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरू सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई कार्यालय दार्चुलाले जनाएको छ। यो वर्ष जिल्लाभर १७ वटा परीक्षा केन्द्र तोकिएका छन् ।

जिल्लाको अपिहिमाल गाउँपालिका अन्तरर्गत पर्ने तामाखानी आधारभुत विद्यालय चौबीसन परीक्षाकेन्द्र नयाँ थप गरिएको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय दार्चुलाका सूचना अधिकारी लक्ष्मीराज जोशीले जानकारी दिए ।

परीक्षा व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गर्न सम्बन्धित परीक्षा केन्द्रका शिक्षकलाई केन्द्राध्यक्षको जिम्मेवारी नदिइने व्यवस्था गरिएको छ। साथै, परीक्षा व्यवस्थापनका लागि अनुगमन, सुरक्षा र आवश्यक तयारी अन्तिम चरणमा पुगेको कार्यालयले जानकारी दिएको छ। जिल्लामा विद्यार्थीको प्रवेश पत्रको वितरणको काम अन्तिम चरणमा पुगेको छ । अहिले विद्यार्थीको प्रयोगात्मक अंक संकलनको काम भइरहेको कार्यालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.