दुहुँ गाउँपालिकामा शिक्षा पूर्वाधारमा ठूलो पहल: ६ विद्यालयमा भवन र ३ विद्यालयमा खेलमैदान निर्माण हुने

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकामा गुणस्तरीय शिक्षाको प्रवद्र्धन गर्ने लक्ष्यसहित भौतिक पूर्वाधार विकासतर्फ महत्वपूर्ण कदम चालिएको छ । ‘भौतिक पूर्वाधार बृहत शैक्षिक सुधार कार्यक्रम’ अन्तर्गत ३ वर्षे ठेक्का स्वीकृत भई विहिबार आज एक औपचारिक कार्यक्रमका बीच दुहुँ गाउँपालिका र नमस्कार निर्माण सेवाबीच सम्झौता सम्पन्न भएको छ ।

सम्झौता कार्यक्रममा नमस्कार निर्माण सेवाका प्रोपराइटर सर्पराज बडूलाई गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडालले सम्झौता पत्र हस्तान्तरण गरे भने प्रमुख प्रशासकीय अधिकृत दिनेश जोशीले कार्यादेश प्रदान गरेका छन् ।

उक्त ठेक्का अन्तर्गत ६ वटा सामुदायिक विद्यालयमा नयाँ विद्यालय भवन निर्माण गरिनेछ भने ३ वटा विद्यालयमा व्यवस्थित खेलमैदान निर्माण गरिने भएको छ । योजना अनुसार सोमनाथ आधारभूत विद्यालय सुत्खोलामा ६ कोठे विद्यालय भवन निर्माण हुनेछ ।

यस्तै लटिनाथ आधारभूत विद्यालय बोहरीगाउँ, महादेव आधारभूत विद्यालय फारा, दहधार आधारभूत विद्यालय गुना, सोविधार आधारभूत विद्यालय सौतोली र भवानी आधारभूत विद्यालय भगनाडीमा ४–४ कोठे विद्यालय भवन निर्माण गरिने गाउँपालिकाले जानकारी दिएको छ ।

यी विद्यालयहरूमा भवनसँगै आवश्यक फर्निचर तथा खेलमैदानको समेत व्यवस्था गरिनेछ, जसले विद्यार्थीहरूको सिकाइ वातावरण थप सुधार गर्ने अपेक्षा गरिएको छ। यस्तै जनविकास माध्यमिक विद्यालय बारबाँज, धारीपाटा माध्यमिक विद्यालय धारी र पिपलचौरी माध्यमिक विद्यालय बिणमा व्यवस्थित खेलमैदान निर्माण गरिने गाउँपालिका शिक्षा शाखा संयोजक लोकेन्द्र बमले जानकारी दिए । गाउँपालिकाले यस कार्यक्रममार्फत शिक्षाको गुणस्तर अभिवृद्धि गर्नका साथै विद्यार्थीहरूलाई सुरक्षित, व्यवस्थित र सुविधासम्पन्न सिकाइ वातावरण उपलब्ध गराउने लक्ष्य लिएको उनले बताए ।

Leave A Reply

Your email address will not be published.