दार्चुला । पाकिस्तानको इस्लामाबादम सम्पन्न ब्याडमिन्टन एसिया–साउद एसिया रिजनल च्याम्पियनसिप–२०२६ मा नेपाली खेलाडी प्रिन्स दाहालले दोहोरो स्वर्ण पदक जितेका छन् ।
प्रिन्सले पुरुष एकल र मिक्स डबल्स स्पर्धामा स्वर्ण पदक जितेका हुन् । पुरुष एकल स्पर्धाको फाइनलमा उनले आयोजक राष्ट्र पाकिस्तानका खेलाडीलाई २१–९, १२–२१, २१–६ ले हराए ।
मिक्स डबल्स स्पर्धामा उनले रसिला महर्जनसँग मिलेर स्वर्ण पदक जितेका हुन् । मेन्स डबल्स स्पर्धामा पनि प्रिन्सले रजत पदक जिते । यो स्पर्धामा उनले क्षितिज खनालसँग मिलेर रजत जितेका हुन् ।
यसैगरी, मिक्स टिम स्पर्धामा पनि प्रिन्ससहितको टोलीले रजत पदक जित्यो । नेपाली टोलीमा प्रिन्ससँगै क्षितिज खनाल, रसिला महर्जन र शेस्ना श्रीपाली रहेका थिए ।
यसैगरी, रसिला महर्जनले महिला एकल स्पर्धामा कांस्य पदक हात पारिन् । उनले महिला डबल्स स्पर्धामा पनि शेस्नासँग मिलेर कांस्य पदक जितिन् ।