विज्ञान र प्रविधिको तीव्र विकासले मानव जीवनलाई सहज, द्रुत र आधुनिक बनाएको छ। आजको युगलाई डिजिटल युग भनिन्छ, जहाँ सूचना, सञ्चार र मनोरञ्जन सबै कुरा हाम्रो हातको मोबाइलमा सीमित भएका छन्। सामाजिक सञ्जालको व्यापक प्रयोगले मानिसलाई विश्वभर जोड्ने काम गरेको छ। तर, यही प्रविधिको अत्यधिक प्रयोगले एक गम्भीर समस्या पनि निम्त्याएको छ—सामाजिक दूरी। मानिसहरू भौतिक रूपमा नजिक भएर पनि भावनात्मक रूपमा टाढा हुँदै गएका छन्।
पहिलेको समाजमा मानिसहरू बिहान–साँझ घरआँगन, टोल–छिमेकमा भेटघाट गर्थे, अनुभव साट्थे, सुख–दुःख बाँड्थे। परिवारका सदस्यहरू सँगै बसेर कुराकानी गर्थे, भोजन गर्थे, आपसी सम्बन्ध बलियो बनाउँथे। तर अहिलेको अवस्थाले त्यो परम्परालाई कमजोर बनाउँदै लगेको छ। सामाजिक सञ्जालमा व्यस्त रहने बानीले गर्दा मानिसहरू वास्तविक जीवनका सम्बन्धभन्दा आभासी सम्बन्धमा बढी केन्द्रित हुन थालेका छन्। आजको युवापुस्तादेखि बालबालिकासम्म मोबाइल, फेसबुक, टिकटोक, युट्युब जस्ता माध्यममा अत्यधिक समय बिताइरहेका छन्। उनीहरू परिवारसँग बस्दा पनि मोबाइलमै व्यस्त हुन्छन्। यसले गर्दा घरभित्रै संवाद घट्दै गएको छ। बुबा–आमा, दाजुभाइ–दिदीबहिनीबीचको आत्मीयता कम हुँदै गएको छ। सँगै बसेर खाना खाने, अनुभव बाँड्ने, समस्या छलफल गर्ने परम्परा हराउँदै गएको छ।
टोल–छिमेकको अवस्था पनि उस्तै छ। पहिले छिमेकीहरूबीच घनिष्ठ सम्बन्ध हुन्थ्यो। कुनै समस्या परे सहयोग गर्ने, उत्सवमा सँगै रमाउने चलन थियो। तर अहिले मानिसहरू आफ्नै डिजिटल दुनियाँमा हराएका छन्। छिमेकीलाई चिन्ने, बोल्ने, सहयोग गर्ने प्रवृत्ति घट्दै गएको छ। यसले समाजमा एक्लोपन, असहयोग र असंवेदनशीलता बढाएको छ। यस अवस्थालाई स्पष्ट पार्ने एउटा उदाहरण हेरौँ। एक परिवारमा चार जना सदस्य छन्—बुबा, आमा र दुई सन्तान। साँझ सबै जना घरमा भेला हुन्छन्, तर प्रत्येक जना आफ्नो–आफ्नो मोबाइलमा व्यस्त छन्। बुबा समाचार हेर्दैछन्, आमा सामाजिक सञ्जालमा साथीहरूसँग च्याट गर्दैछन्, छोराछोरी खेल वा भिडियोमा रमाइरहेका छन्। उनीहरू एउटै कोठामा बसे पनि एक–आपसमा कुनै संवाद छैन। यस्तो अवस्थाले परिवारभित्रको सम्बन्ध कमजोर बनाउँछ। सन्तानले आफ्ना समस्या अभिभावकसँग सेयर गर्न सक्दैनन्, र अभिभावकले पनि सन्तानको मनोभाव बुझ्न सक्दैनन्। यसले दीर्घकालीन रूपमा पारिवारिक विघटन र मानसिक समस्यासमेत निम्त्याउन सक्छ।
सामाजिक दूरीको प्रभाव केवल परिवार वा टोल–छिमेकमा मात्र सीमित छैन, यसले समाजका विभिन्न क्षेत्रमा गहिरो असर पारिरहेको छ। शिक्षा क्षेत्रमा विद्यार्थीहरूको ध्यान अध्ययनभन्दा सामाजिक सञ्जालतिर बढी केन्द्रित भएको देखिन्छ। शिक्षक–विद्यार्थीबीचको प्रत्यक्ष अन्तरक्रिया घट्दै गएको छ। स्वास्थ्य क्षेत्रमा पनि मानिसहरू शारीरिक रूपमा निष्क्रिय हुँदै गएका छन्, जसले मानसिक तनाव, चिन्ता र अवसादजस्ता समस्या बढाएको छ।
यसका अतिरिक्त, सामाजिक मूल्य र मान्यतामा पनि परिवर्तन आएको छ। पहिले सम्मान, सहकार्य, सहानुभूति जस्ता गुणहरूलाई महत्व दिइन्थ्यो। तर अहिले व्यक्तिगत स्वार्थ र आभासी लोकप्रियतालाई बढी महत्व दिन थालिएको छ। लाइक, कमेन्ट र फलोअर्सको संख्या नै आत्मसन्तुष्टिको मापदण्ड बनेको छ। यसले मानिसहरूलाई वास्तविक जीवनभन्दा कृत्रिम जीवनतर्फ आकर्षित गरिरहेको छ। यद्यपि, प्रविधि आफैँमा दोषी होइन। यसको प्रयोग कसरी गरिन्छ भन्ने कुराले यसको प्रभाव निर्धारण गर्छ। यदि प्रविधिको सन्तुलित र सचेत प्रयोग गरियो भने यसले सामाजिक सम्बन्धलाई अझ मजबुत बनाउन पनि सक्छ। उदाहरणका लागि, टाढा रहेका आफन्तसँग सम्पर्क राख्न, ज्ञान आदानप्रदान गर्न, र सामाजिक सञ्जालमार्फत सकारात्मक सन्देश फैलाउन सकिन्छ।अन्ततः, प्रविधिको अत्यधिक प्रयोगले निम्त्याएको सामाजिक दूरीलाई कम गर्नका लागि हामी सबै सचेत हुन आवश्यक छ। परिवारमा समय दिने, आमनेसामने संवाद गर्ने, सामाजिक गतिविधिमा सहभागी हुने जस्ता अभ्यासलाई प्राथमिकता दिनुपर्छ। मोबाइल र सामाजिक सञ्जालको प्रयोगलाई सीमित र उद्देश्यपूर्ण बनाउनुपर्छ। यदि हामीले प्रविधि र सामाजिक जीवनबीच सन्तुलन कायम गर्न सक्यौँ भने मात्र स्वस्थ, सशक्त र समावेशी समाज निर्माण गर्न सम्भव हुनेछ।
यसैले, प्रविधि हाम्रो साथी बन्नुपर्छ, स्वामी होइन। मानव सम्बन्धको मिठास जोगाउँदै आधुनिकताको सही उपयोग गर्नु आजको आवश्यकता हो।
लेखक अर्जुन रायमाझी