दार्चुलाको धौँकोटमा जिप दुर्घटना : तीन जना घाइते

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वडा–८ धौँकोटमा शनिबार दिउँसो जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । धापबाट धौँउकोटतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१–००१ज ३९१ नम्बरको जिप दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देबेन्द्र बुढाथोकीका अनुसार चालक देबसिंह विष्टले चलाएको उक्त जिप दुर्घटनामा परेको बताएका छन् । जिपमा चालकसहित तीन जना सवार रहेका थिए।

दुर्घटनामा परी अन्दाजी ७०–७५ वर्षीय प्रमानन्द भट्ट र ३०–३२ वर्षीया चन्द्रादेवी भट्ट घाइते भएका छन्। चालक विष्ट पनि सामान्य घाइते भएका छन्। जिप सडकबाट १५–२० मिटर तल खोल्सामा परेको छ ।

घाइते तीनै जनाको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको छ भने घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.