दार्चुला । बैतडीमा ३ वर्षमा १३० जना नवजात शिशुको मृत्यु भएको छ। स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०७६÷७७ देखि आव २०७८÷७९ सम्म १३० नवजात शिशुको मृत्यु भएको हो।
यहाँ हरेक वर्ष नवजात शिशुको नवजात शिशु मृत्युदर बढ्दै गएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए। आर्थिक वर्ष २०७६÷७७ मा ३१, आर्थिक वर्ष २०७७÷७८ मा ४८ नवजात शिशुको मृत्यु भएको थियो। गत आर्थिक वर्ष २०७८÷७९ मा ५१ जना नवजात शिशुको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।
गएको आर्थिक वर्षमा सबैभन्दा बढी पुर्चौंडी नगरपालिकामा १३ जना नवजात शिशुको मृत्यु भएको छ। यस्तै मेलौली नगरपालिकामा ११ , सिगास गाउँपालिकामा ६ , दशरथचन्द र पाटन नगरपालिकामा ५÷५ , डिलाशैनी र शिवनाथ गाउँपालिकामा ४÷४ र सुर्नया गाउँपालिकामा २ जना नवजात शिशुको मृत्यु भएको छ। स्वास्थ्य संस्थाहरूमा दक्ष प्रसुतीकर्मी नहुनु, सुत्केरी हुनका लागि आमाहरू स्वास्थ्य संस्था नजानु लगायतका कारणले नवजात शिशुको मृत्यु हुने गरेको छ।
समयभन्दा अगाडि जन्मिनु, नवजात शिशुमा संक्रमण हुनु, शितांग हुने, र निस्सासिएर पनि मृत्यु हुने गरेको स्वास्थ्य प्रमुख भट्टको भनाइ छ। जिल्लामा १३० सुरक्षित प्रसुती सेवा केन्द्र सञ्चालनमा रहेका छन्। नवजात शिशुको मृत्यु रोकथामका लागि स्थानीय तहहरूले पनि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने सरोकारवालाको जोड छ।
स्वास्थ्यका सम्पूर्ण अधिकार स्थानीय तहहरूमा रहेका भएपनि स्थानीय तहले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा नराख्दा विभिन्न समस्या देखिन थालेका हुन्।थाहा खबर