यू-१९ विश्वकप छनोट: नेपाललाई लगातार तेस्रो सफलता

काठमाडाैँ । १९ वर्षमुनिको विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले लगातार तेस्रो जित हात पारेको छ । युएईमा आज भएको खेलमा नेपालले हङकङलाई ९ विकेटले हराएको हो ।

१२१ रनको लक्ष्य नेपालले १ विकेट गुमाउँदै २२ ओभर १ बलमा भेट्टायो । नेपालका आकाश त्रिपाठीले नटआउट ५८ र उत्तम थापा मगरले नटआउट ३९ रन बनाउनुभयो ।

टस जितेर पहिले ब्याटिङ गरेको हङकङ ४६.३ ओभरमा १२० रनमा अलआउट भएको थियो । बलिङतर्फ  नेपालका हेमन्त धामीले ३, आकाश चन्द र सुवास भण्डारीले २-२ तथा  दिपेश कँडेलले १ विकेट हात पारे।

नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रनले र दोस्रो खेलमा कुवेतलाई २४३ रनले हराएको थियो । नेपालले चौथो खेल भाेली मलेसियासँग खेल्नेछ । प्रतियोगितामा नेपालसहित घरेलु टिम युएई, हङकङ, कुवेत, मलेसिया र सिंगापुर छन् । प्रतियोगिताको शिर्ष स्थानमा रहने टिम आगामी वर्ष हुने विश्वकपमा स्थान बनाउने छ।

Leave A Reply

Your email address will not be published.