महाकाली, बाग्मती र कोशी सहित देशका धेरै नदी तथा खोलामा बाढीको जोखिम

दार्चुला – कोशी, बाग्मती, महाकालीसहित देशका धेरै नदी तथा खोलामा बाढीको जोखिम बढेको छ । जलसतह बढेपछि यी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

बाग्मती नदीका कारण रौतहट र सर्लाहीमा जोखिम बढेपछि उच्च सतर्कता अपनाउन भनिएको छ । बाँकेको खजुरा र आसपासको क्षेत्रमा पनि ठूलो पानी परेको छ ।

बाँके, बर्दिया र कैलाली भइ बग्ने साना खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्र र डुबान भइरहने होचा ठाउँमा सावधानी अपनाउन आग्रह गरिएको छ ।

कैलालीको टीकापुर, चिसापानी, लमजुङ, ओखलढुङ्गा, सिन्धुली, सिरहालगायत क्षेत्रमा पनि ठूलो वर्षा भएको छ । त्यहाँका नदी तथा खोलामा बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन भनिएको छ । त्यस्तै, बेसिसहर चामे सडक खण्डमा पहिरोको उच्च जोखिम छ ।

ओखलढुङ्गामा जलसतहले सतर्कता तह पार गरेको र यो बढ्दो क्रममा रहेकाले दुधकोशी र सुनकोशी दोभानसम्मको नदी तटीय क्षेत्रहरूमा बिहान १० बजेसम्म नै उच्च सतर्कता अपनाउन भनिएको छ । उदयपुर, सिन्धुली र धनुषाको तटीय क्षेत्रलगायत डुबान भइरहने होचा ठाउँहरुमा पनि आज बिहान ११ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

Leave A Reply

Your email address will not be published.