दार्चुला – दार्चुलामा ९२ ओटा खोप केन्द्रबाट कार्तिक ११ गतेदेखि कार्तिक १५ गतेसम्म कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाइने भएको छ । गत असोज मा भेरोसेलको पहिलो डोज लगाएकाहरुलाई दोस्रो डोज लगाइने भएको हो । दार्चुलामा १८ वर्षमाथिका २९ हजार ९ सय ४५ जनाले कोरोनाविरुद्धको भेरोसेलको पहिलो मात्रा लगाएका छन् ।
पहिलो मात्रा लगाएका नागरिकहरुलाई कार्तिक ११ गतेदेखि कार्तिक १५ गतेसम्म (५ दिन) का लागी खोपको दोस्रो मात्रा दिइन लागेको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिनुभयो ।भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुलाई नजिकको खोप केन्द्रमा खोप कार्डसहित आउन आग्रह गरिएको छ ।
स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार दार्चुलामा अहिले ३७ हजार ९ सय ९९ नागरिकहरुले पूर्ण खोप लगाइसकेका छन् । खोपको पहिलो मात्रा ७१ हजार ४९ जनाले पाएका छन् भने जिल्लामा अझै ३१ हजार ३ सय डोज खोप बाकि रहेको स्वास्थ्य कार्यालयले दार्चुलाले जनाएको छ ।