दार्चुला । दार्चुलामा दुई दिने खोज तथा उद्धार र प्राथमिक उपचार सम्बन्धी तालिम सम्पन्न भएको छ ।
महाकाली नगरपालिकाको आयोजना र सामुदायिक विकास केन्द्र डोटी, युनिसेफ र युरोपियन युनियनको आर्थिक सहयोगमा तालिम सम्पन्न भएको हो । तालिममा महाकाली नगरपालिका अन्तर्गतका विद्यालयका शिक्षकहरुका लागि तालिम आयोजना गरिएको थियो ।
तालिमको उद्घाटन सत्रमा महाकाली नगरपालिका प्रमुख नर सिंह चैसिर, उपप्रमुख दुर्गा कुमारी खत्री विष्ट, शिक्षा शाखाका स्रोत व्यक्ति नन्दराज भट्ट र विपद् व्यवस्थापन शाखा प्रमुख नरेन्द्र सिंह ठगुन्नाको उपस्थिति रहेको थियो ।
विपद्को समयमा शिक्षकहरुले गर्नुपर्ने आधारभूत खोज तथा उद्धार र प्राथमिक उपचारका बारेमा क्षमता विकास तालिम दिइएको सामुदायिक विकास केन्द्रका शिक्षा अधिकृत नरेश प्रसाद भट्टले जानकारी दिए ।
दुई दिनसम्म सञ्चालन भएको तालिममा दुर्घटनामा परेका घाइते तथा विपद्को समयमा जोखिममा परेकालाई कसरी प्राथमिक उपचार गर्ने तथा खोज र उद्धार गर्ने भन्ने बारे सीप विकास गराइएको थियो ।
सामुदायिक विकास केन्द्र डोटीका शिक्षा अधिकृत नरेश प्रसाद भट्टले विद्यालय शिक्षा क्षेत्र योजना कार्यक्रम र तालिमको उद्धेश्य बारे जानकारी गराउँदै विपद्मा प्रयोगमा आउने प्राथमिक उपचार सीप सिकाउन तालिमको आयोजना गरिएको बताए । तालिममा नेपाल रेडक्रम सोसाइटी कैलाली जिल्लाका प्राथमिक उपचार प्रशिक्षक खगेन्द्र राज जोशीले प्रशिक्षण गर्नुभएको थियो ।