स्ववियु चुनावपछि हराएको मित्रता : पदलोभ र अहंकारको छायाँ

स्ववियु निर्वाचन नजिकिँदै गर्दा हाम्रो समूहमा जुन उत्साह थियो, आज त्यो सम्झँदा तीतो लाग्छ। हामी सबै साथी थियौं — एउटै कक्षामा पढ्ने, एउटै टिफिनमा चिया खाने, एउटै नोटबुक साटेर पढ्ने। नेतृत्व लिन हामीमध्ये कसैको ठूलो इच्छा थिएन, तर क्याम्पसको भविष्य र आफ्नै मित्रता जोगाउन हामीले पहल गर्‍यौं। हामीले राजनीतिको बारेमा खासै नबुझेका साथीहरूलाई पनि “अब बुझ्नुपर्छ, अब नेतृत्व गर्नुपर्छ” भनेर अघि सारेका थियौं।

निर्वाचनताका हामीले रात–दिन खट्यौं। म आफैं उम्मेदवार भन्दा बढी प्रचारमा दौडिएँ। पोस्टर टाँस्ने, भाषण लेख्ने, क्याम्पसमा समर्थन जुटाउने सबै काम हाम्रो समूहकै बलमा चल्यो। हामीले त्यतिबेला सोचेका थियौं मित्रता जोगाएर नेतृत्व गर्न सकिन्छ। तर चुनाव सकिएपछि सब कुरा उल्टो भयो।

पदलोप र स्वार्थी पात्र
नेतृत्वमा पुगेको एउटा साथी, जुन चुनावअघि अत्यन्तै विनम्र र सहयोगी थियो, चुनाव जितेपछि पदलोभमा फस्यो। उसले जिम्मेवारी भन्दा बढी सुविधा र मान सम्मानमा ध्यान दियो। साथीहरूसँगको सामान्य व्यवहार पनि बदलियो, साना काममा “म व्यस्त छु” भन्न थाल्यो।

अहंकार र अवसरवाद
अर्को साथी, जुन सुरुमा नेतृत्व गर्न हिच्किचाएको थियो, चुनाव जितेपछि पूर्ण रूपमा बदलियो। उसमा अहंकार र अवसरवाद बढ्यो। हामीलाई चुनावताका “साथी” भन्यो, तर पछि “म नेता हुँ” भन्ने व्यवहार देखायो। निर्णयहरूमा साथीहरूलाई जानकारी नदिने, आफूलाई अनुकूल हुनेहरूलाई मात्रै प्राथमिकता दिने प्रवृत्ति बढ्यो।

मित्रताको पतन
यी दुई प्रकारका चरित्रका कारण हाम्रो समूह भत्कियो।
– निर्वाचनअघि सँगै खाना खाने हामी, पछि नजरअन्दाज हुन थाल्यौं।
– एकअर्काको दुःख–सुख बुझ्ने हामी, पछि मात्र ‘पार्टी–लाइन’ अनुसार चल्ने भयौं।
– जसलाई राजनीति बुझाउन अघि सारेका थियौं, अहिले ती नै राजनीतिले हाम्रो मित्रता बिर्सिए।

पछुतो र सिकाइ
आज म सोचिरहेछु  हामीले ती साथीहरूलाई नेतृत्वमा अघि सार्दा राजनीति सिकाउने भनेर गरेका थियौं। तर अहिले आएर लाग्छ, नेतृत्व पाउने पात्रता र मूल्यबोध नबुझी मात्र राजनीति सिकाइन्छ भन्ने सोच गलत रहेछ।

यो अनुभवले मलाई सिकायो:
– पद र अवसरको लोभले मित्रता भत्काउँछ।
– अहंकारले नेतृत्व होइन, अलगाव जन्माउँछ।
– राजनीति सिकाउनुअघि मूल्य र जिम्मेवारी सिकाउनुपर्छ।

निष्कर्ष
स्ववियु चुनावले हामीलाई लोकतन्त्र, नेतृत्व र एकताको पाठ सिकाउनुपर्ने थियो। तर यसले उल्टै देखायो पदलोलुप र अहंकारले मित्रता र विश्वास गुमाउँछ।
हामी जस्ता साधारण विद्यार्थीले अब बुझिसकेका छौं ,साँचो नेतृत्व भनेको पद पाउनु होइन, साथी र मूल्य जोगाएर जिम्मेवारी निर्वाह गर्नु हो।

लेखक: खिम सिंह बिस्ट
सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पस खलंगा दार्चुला।

Leave A Reply

Your email address will not be published.