दार्चुला । दसैँ, तिहार र छठलगायत प्रमुख चाडपर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय दार्चुलाले विशेष सुरक्षा योजना लागु गरेको छ । चाडपर्वको समयमा बढ्न सक्ने आपराधिक गतिविधि, चोरी, लुटपाट तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाभर ४३० जना प्रहरी परिचालन गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त कार्यालय प्रमुख,प्रहरी निरीक्षक सुचना अधिकारी छत्रबहादुर रावतले नागरिकलाई सुरक्षित वातावरणमा चाडपर्व मनाउने सुनिश्चित गर्न यो योजना ल्याइएको जानकारी दिए । सिमा क्षेत्र जोडिएको जिल्ला भएकाले आपराधिक गतिविधिको जोखिम उच्च हुने हुदाँ सुरक्षा योजना विशेष तवरले कार्यान्वयनमा ल्याइएको उहाँले बताए ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार कालोबजारी, म्याद गुज्रेका सामग्रीको बिक्री वितरण नियन्त्रण गर्न बजार अनुगमन टोली परिचालन हुनेछ ,भने यात्रुलाई सहज बनाउन यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
जिल्लामा सादा पोसाकका प्रहरीहरूले सूचना संकलन गरी शान्ति–सुरक्षा कायम राखिने बताइएको छ । यस्तै प्रहरी मोबाइल गस्तीमा खटिनेछन् । संयुक्त, नियमित तथा आकस्मिक चेकिङका लागि पनि प्रहरी परिचालन गरिएको प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, महत्वपूर्ण प्रतिष्ठान र बजार क्षेत्रमा गस्ती गर्न ठ्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । बजार अनुगमन, आकस्मिक सभा, जुलुस वा धर्ना नियन्त्रणका लागि पनि प्रहरी तत्पर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।