काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आज ११.५१ अंकले बढेको छ । आज ०.४३ प्रतिशतले बढेर २,६६३.५१ बिन्दुमा बन्द भएको छ ।
यस दिन दुई अर्ब ९३ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । दसैँ बिदा हुनुभन्दा अघिल्लो दिन नेप्से परिसूचक बढ्दा कारोबार रकममा कमी आएको छ ।
बिहीबार तीन अर्ब २६ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो । आज १७० कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, ६९ कम्पनीको सेयर मूल्य घटेको छ । बाह्र कम्पनीको सेयरमूल्य स्थिर छ ।
नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक मूल्यको सेयर खरिदबिक्री भएको छ । यस कम्पनीको २२ करोड १३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
आज कारोबारमा आएका १३ मध्ये तीन समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक बढेको छ । होटल तथा पर्यटन, ‘अन्य’, र व्यापार समूहको परिसूचक घटेको छ ।
होटल तथा पर्यटन समूहको ०.१५ प्रतिशत, ‘अन्य’ समूहको ०.१४ प्रतिशत र व्यापार समूहको परिसूचक १.२८ प्रतिशतले घटेको छ ।