दार्चुलाको छाङरु र टिङ्कर जोड्ने बाटो निर्माण सुरू भएसँगै स्थानीय खुसी

दार्चुला । चीन र भारतसँग सीमा जोडिएको दार्चुलाको दोपाखे, बयली र तम्बाकु क्षेत्रमा बाटो निर्माण सुरु भएसँगै स्थानीय खुसी भएका छन् । व्यास गाउँपालिकाले गत आर्थिक वर्ष २०८१/८२ मा गरेको ठेक्का सम्झौता अन्तर्गत बाटो निर्माण भइरहेको निर्माण कम्पनीले जनाएको छ ।

नेपालबाटै व्यासको वडा नम्बर १ टिङ्कर र छाङरुको धेरै जसो ठाउँको पैदलबाटो निर्माण अघि बढिसकेको छ भने दोपाखे, बयली र तम्बाकु क्षेत्रको बाटो निर्माण अन्तिम चरणमा रहेको मिसन–देवहरी जेभीका प्रतिनिधि केशवबहादुर पालले बताएका छन् ।

सङ्घीय सरकारको ससर्त अनुदानबाट गत आर्थिक बर्षमा व्यास गाउँपालिकाले पाँच करोड ५० लाखको टेन्डर आह्वान गरी पैदल बाटो निर्माणको ठेक्का सम्झौता गरेको थियो ।

त्यसमध्ये एक करोड २५ लाख रुपैयाँ बजेट फ्रिज भइसकेको गाउँपालिकाका लेखापाल गोपालसिंह विष्टले जानकारी दिए । गत असार ७ गतेको गाउँ कार्यपालिका बैठकले गाउँपालिकाको आन्तरिक स्रोतबाट बेहोर्ने गरी बाटो निर्माणको म्याद भने मङ्सिर १५ गतेसम्मका लागि थप गरेको छ ।

थपिएको म्यादभित्र बाटो निर्माण कार्य सक्ने काम भइरहेको उनले बताए । गाउँपालिकाले चालु आव २०८२/८३ मा पैदल बाटो निर्माणका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.