दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ मा अवस्थित गोकुलेश्वर माध्यमिक विद्यालयको ६५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भब्यताका साथ सम्पन्न भएको छ ।
बुधबार (आज) विद्यालय व्यवस्थापन समिति अध्यक्ष लक्ष्मीराज जोशीको अध्यक्षतामा भएको बार्षिकोत्सव समारोहमा शैल्यशिखर नगरपालिकाका प्रमुख विजय सिंह धामीको प्रमुख आतिथ्यता रहेको विद्यालयका शिक्षक तथा सूचना अधिकारी तिर्थराज पन्तले बताउनुभयो ।
कार्यक्रममा शैल्यशिखर नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत भोज राज भट्ट, वडा नम्बर ९ का वडा अध्यक्ष प्रजापती पाण्डे, इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख, प्रहरी निरीक्षक निरज सिंह भाट लगायत विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरुको सहभागिता रहेको उहाँले जानकारी दिनुभयो ।
बार्षिकोत्सव समारोहको पूर्वसन्ध्यामा विद्यालयमा विभिन्न अन्तरसदनात्मक कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रमहरुमा विभिन्न स्थान प्राप्त गरेका विद्यार्थीहरुलाई बार्षिकोत्सव सामारोहको अवसरमा पुरस्कार वितरण गरिएको पन्तले बताउनुभयो । त्यस्तै कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पिताम्बर विष्टले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने विविद् सांस्कृतिक कार्यक्रमहरु सञ्चालन गर्दै भब्यताका साथ कार्यक्रम सम्पन्न गरिएको थियोे ।