दार्चुला । दार्चुलाको उत्तरी क्षेत्रमा पर्ने व्यास गाउँपालिकाको तिङ्कर छायाँलेकमा रहेको नेपाल प्रहरीको चौकी र सशस्त्र प्रहरी बलको बर्डर आउट पोष्ट (बिओपी) छाङरू झरेपछि चीनसँग सीमा जोडिएको नाका सुरक्षा विहीन भएको छ ।
तिङ्कर गाउँका स्थानीय चिसो छल्न बसाइँ सरेर सदरमुकाम खलङ्गा झरेपछि यहाँका सुरक्षाकर्मीहरु समेत छाङरू झरेका हुन् । तिङ्कर गाउँका सबै स्थानीय सदरमुकाम झरेपछि मङ्सिरको ७ गते सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षाकर्मी छाङरू झरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हेमराज भट्टले जानकारी दिए ।
नेपालको अन्तिम गाउँ तिङ्कर स्थित छ्यालेकमा बस्दै आएका सुरक्षाकर्मी चिसो छल्न छाङरू झरेको उनले बताए । दुबै सुरक्षाकर्मी तल झरेपछि अहिले चीनसँगको तिङ्कर भञ्ज्याङ १ नम्बर पिल्लर नाका सुरक्षा विहिन रहेको छ । प्रहरीहरु छाङरू र सितापूलमा बस्ने गरेका छन् । सुरक्षाकर्मी बाह्रै महिना बस्न सक्ने किसिमको भौतिक पूर्वाधार अभावमा मङ्सिर देखी चैत सम्म पाँच महिनाको अवधीमा तिङ्कर नाका सुरक्षाकर्मी विहिन हुने गरेको छ ।
राज्यले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न तथा बाह्य राष्ट्रको हस्तक्षेप रोक्न भौतिक पूर्वाधारको उचित व्यवस्थापन गरी बाहै्र महिना सुरक्षाकर्मी परिचालन गर्न सक्नुपर्नेमा यहाँका स्थानीयले जोड दिएका छन् । चिसो छल्न तल झरेका सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरु छाङरू स्थित गुल्ममा बसेका छन, भने नेपाल प्रहरीका सुरक्षाकर्मी प्रहरी चौकीमा बसेका छन् ।
तिङ्कर र छाङरूमा मङ्सिर देखी चैत सम्म ५ फिट भन्दा माथी सम्म हिँउ जम्ने गरेको छ । तिङ्करमा रहेका प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरु जाडोयाममा वर्षेनी नजिकका युनिटहरुमा सर्ने गर्दछन् । चीनसँग जोड्ने मार्गमा रहेका सुरक्षाकर्मीका भवनहरु सुविधा सम्पन्न नहुँदा बाह्रै महिना बस्न सकिने अवस्था छैन् ।