दार्चुला । मालिकार्जुन गाउँपालिका वडा नं- ७ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ । शुक्रबार एक औपचारिक कार्यक्रमका बीच वडा नं -७ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको हो ।
पछिल्लो १ वर्षमा वडाभित्र कुनै पनि बालविवाह नभएको पुष्टि भएपछि वडालाई बालविवाहमुक्त वडा घोषणा गरिएको वडा कार्यालयले जनाएको छ । वडा नं- ७ लाई सातौँ वडाको रुपमा बालविवाहमुक्त वडा घोषणा गरिएको हो ।
यो संगै मालिकार्जुन गाउँपालिकाका ७ वडा बालविवाहमुक्त वडा घोषणा भएका छन् ।बालविवाहमुक्त वडा घोषणा कार्यक्रम वडाको डिन्सी मावि डिन्सी विद्यालयमा आयोजना गरिएको छ ।
जिल्लाकै पहिलो वडाका रुपमा २०८० सालमा मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ६ उकुलाई बालविवाहमुक्त वडा घोषणा गरिएको थियो । सोही वर्ष वडा नम्बर २ लाई पनि बालविवाहमुक्त वडा घोषणा गरिएको थियो ।
त्यस्तै २०८१ मा वडा नम्बर १, ३ र वडा नम्बर ८ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको मालिकार्जुन गाउँपालिका महिला बालवालिका तथा ज्येष्ठ नागरिक शाखा संयोजक आरती शर्माले जानकारी दिए ।
बाकी रहेको वडा नम्बर ५ लाई पनि बालविवाहमुक्त वडा घोषणा गरी २०८२ सालभित्रै पालिकालाई बालविवाहमुक्त पालिका घोषणा गरिने मालिकार्जुन गाउँपालिकाले जनाएको छ ।
मालिकार्जुन गाउँपालिकामा बालविवाह अन्त्यका लागि स्थानीय रणनीति २०७६ लागू भएपछि त्याँहा गैरसरकारी संस्था गुड नेवर्स इन्टरनेशनल र सीआरडीएस नेपालले बालविवाह विरुद्ध अभियान संचालन गरेर कार्यक्रम गर्दै आएका छन् ।
बालविवाह मुक्त वडा घोषणा कार्यक्रममा सरोकारवाला पक्ष र उपस्थित सहभागीहरुलाई बालविवाहविरुद्धको हस्ताक्षर अभियानमा हस्ताक्षरसमेत गराइएको छ ।