दार्चुला ।दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर ४ नौपाटा स्थित नौपाटा होमस्टेका सञ्चालक खडक सिंह ठेकरेले स्थानीय रूपमा उपलब्ध बाँस, निकालो र बेत प्रयोग गरी उत्कृष्ट फर्निचर सामग्री उत्पादन सुरु गरेका छन्।
डाइनिङ टेबुल, मुडा, बुरुसदानी (ब्रस होल्डर) जस्ता दैनिक प्रयोगका सजिलै बोक्न मिल्ने र वातावरणमैत्री फर्निचरहरू समावेश छन्। पूर्ण रूपमा हातैले बनेका यी सामग्रीहरू टिकाउ, सौन्दर्यपूर्ण तथा गाउँको पहिचान झल्काउने किसिमका छन्।
उनका अनुसार स्थानीय कच्चा पदार्थको उपयोग गर्दै गाउँकै युवालाई रोजगारी सिर्जना गर्ने उद्देश्यले यो उत्पादन सुरु गरिएको हो। आधुनिकता र परम्परालाई जोड्न सकिने यस्ता सामग्रीले घरेलु तथा व्यावसायिक प्रयोजनका लागि उपयोगी हुने बताइएको छ।
सम्बन्धित फर्निचर खरिद गर्न वा थप जानकारीका लागि इच्छुकहरूले नौपाटा होमस्टेमा सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको सञ्चालक ठेकरेले जनाएका छन्।
