दार्चुलाको दुहुँ गाउँपालिकाभित्रका १० वटा सामुदायिक विद्यालयहरुले स्थानीय शैक्षिक सामग्री निर्माण गरेका छन् ।
पालिकाभित्रको स्थानीय स्रोतको सदुपयोग गर्दै विद्यालयहरुले शैक्षिक सामग्री निर्माण गरेका हुन् । गुणस्तरीय तथा स्थानीय शैक्षिक सामग्री विद्यालयभित्र उपलब्ध गराउन र अभिभावक तथा विद्यालयबीच सहकार्यलाई अझ बलियो बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको विद्यालयहरुले जनाएका छन् ।
उक्त कार्यक्रममा गुड नेवर्स ईन्टरनेशनल नेपाल दार्चुलाको आर्थिक तथा प्राविधिक सहयोग सँगै सामुदायिक ग्रामीण विकास समाज नेपाल, दार्चुलाको सहजिकरणमा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनाको सहयोगमा स्थानीय शैक्षिक सामग्री निर्माण कार्यक्रम सम्पन्न गरिएको सिआरडियस नेपाल दार्चुलाका शिक्षा शाखा अधिकृत उदय बोहराले जानकारी दिए ।
विद्यालयहरुले आफ्ना स्थानिय स्रोतहरू प्रयोग गरेर विविध शैक्षिक सामग्रीहरू निर्माण गरेको उनले बताए । विद्यार्थीहरुले डोकोडालो, नाङलो, काठका टुक्रा, बाँसका गोट्टी, ढुंगा, हलो, जुवाँ, हसिया, कुटो, कोदाली, कपडाका खेलौनाहरू, ओखर, पाङर, रिठा, अन्न गेडागुडी लगायतका विभिन्न शैक्षिक सामग्रीहरू आफ्नै समुदायको सीपबाट तयार पारेका छन् ।
यस् सामग्रीले कक्षा भित्र विद्यार्थीहरूको सिकाइ अनुभवलाई अझ रोचक, सक्रिय र अन्तक्र्रियात्मक बनाउने विश्वास सरोकारवालाहरुले लिएका छन् । शिक्षक तथा अभिभावकहरू सक्रिय रूपमा सहभागी भई सामग्री निर्माणमा सहयोग गरेका छन् । विद्यालयले निर्माण गरेका सामग्रीहरूको अभिभावक भेला गरी प्रदर्शनी समेत गरिएको छ ।
यसले अभिभावक र शिक्षकबीचको सहकार्यलाई थप बलियो बनाउन तथा विद्यार्थीहरूलाई सामग्री प्रयोगबाट थप सिकाईका लागि प्रेरणा मिल्ने अपेक्षा लिइएको छ । शिक्षक तथा अभिभावकहरूका अनुसार यस्ता सामग्री प्रयोगले कक्षाकोठामा सक्रिय अभ्यास, अनुकरणात्मक सिकाइ र विद्यार्थीहरूको सृजनात्मक सहभागितामा बढोत्तरी हुने विश्वास व्यक्त गरेका छन् ।
सामग्री निर्माण गर्ने विद्यालयको विवरण यस्तो छ ।
१. श्री मस्टकेदार आधारभूत विद्यालय गौकुल
२. श्री दुर्गा आधारभूत विद्यालय गरमोरा
३. श्री ब्रह्म आधारभूत विद्यालय पाँसु
४. श्री धारिपाटा माध्यमिक विद्यालय धारी
५. श्री भगवती आधारभूत विद्यालय पोक्से
६. श्री महादेव आधारभूत विद्यालय फारा
७. श्री जनविकास माध्यमिक विद्यालय बारबाज
८. श्री लटिनाथ आधारभूत विद्यालय धामी बोहरिगाउँ
९. श्री गणेश माध्यमिक विद्यालय सिमली
१०. श्री भवानी आधारभूत विद्यालय भगनाडी