दार्चुला ।दार्चुलाको दुहुँ गाउँपालिकाकाे आयोजना, गुड नेवर्स इन्टरनेशनल नेपालकाे आर्थिक तथा प्राविधिक सहयोग र सामुदायिक ग्रामिण विकास समाज नेपाल दार्चुलाको सहजीकरणमा `सगुण शिक्षा सक्षम समाज´ भन्ने आदर्श वाक्यका साथ २ दिने पालिकास्तरीय शिक्षा कार्यशाला गाेष्ठी सम्पन्न भएको छ । तालिममा शिक्षा तालिम केन्द्र दिपायलका पूर्व प्रमुख एवम् शिक्षा विकास तथा समन्वय इकाई डाेटीका इकाई प्रमुख शिक्षा सेवा उपसचिव श्री भीम प्रसाद पनेरु सरले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, ५ वटै वडाका वडाध्यक्षहरु, १९ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक र १० वटा सामुदायिक विद्यालयका विव्यस अध्यक्षहरुकाे सहभागीता रहेको थियोे । साथै गाेष्ठीमा सामुदायिक ग्रामीण विकास समाज नेपाल दार्चुलाका निर्देशक अशोक ओझा, शिक्षा अधिकृत उदय सिह बाेहरा र जिएनआइका तेज प्रकाश शर्माकाे समेत उपस्थिति रहेको थियोे । तालिममा विद्यालय शिक्षाकाे सुधारका लागि गर्नुपर्ने प्रयास, शिक्षण विधि र प्रविधिको प्रयोग, विद्यार्थी मूल्यांकन जस्ता बिषयमा छलफल गरिएको छ ।