दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकाले आगामी सोमबार देखि गाउँपालिकाको बस सञ्चालनमा ल्याउने भएको छ । गाउँपालिकाका नागरिकहरुलाई सहज रुपमा यातायात सेवा प्रदान गर्ने उदेश्यसहित गाउँपालिका भित्र गाउँबस सेवा सञ्चालन गर्न लागिएको छ ।
गाउँबस सञ्चालनको लागि आवश्यक सम्पुर्ण तयारी पुरा भएकाले पौष १४ गते सोमबार देखि नियमित रुपमा गाउँबस सेवा सञ्चालन हुने गाउँपालिका अध्यक्ष दलजित सिह धामीले जानकारी दिए । गाउँपालिकाको वडा नम्बर ६ धुलीगाडाको सुकखोला देखि वडा नम्बर ३ खार सम्म नियमित रुपमा गाउँपालिकाले बस सञ्चालन गर्ने तयारी भएको उनले बताए ।
गाउँपालिकाले सञ्चालन गर्ने बसमा ७० वर्ष माथिका जेष्ठ नागरिक, अपाङ्ग तथा असहायलाई भाडामा छुट दिईने र अरु नागरिकहरुलाई पनि सहज, नियमित र सुलभ तवरले यातायात सुविधा प्रदान गरिने गाउँपालिकाले जनाएको छ । यस अघि जिल्लाको सदरमुकाम खलंगामा रहेको महाकाली नगरपालिकाले आफनै नगरबस सेवा संञ्चालनमा राखेको छ । आफनै बस सेवा संञ्चालन गर्ने जिल्लाको नौगाड गाउँपालिका दोस्रो स्थानीय तह हो ।