मालिकार्जुन धाममा शिवपुराण महायज्ञ तथा धार्मिक महोत्सव सञ्चालन हुने
सचिवालय स्थापना सहित विभिन्न समिति गठन , माघ २२ गते देखि फागुन ३ गते सम्म संचालन हुने
दार्चुला । दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका–३ मा अवस्थित देशकै सातौँ धामका रूपमा परिचित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको मालिकार्जुन मन्दिरमा शिवपुराण महायज्ञ तथा धार्मिक महोत्सव सञ्चालन हुने भएको छ। धार्मिक आस्था, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महायज्ञका लागि सोमबार औपचारिक रूपमा सचिवालय स्थापना गर्दै विभिन्न समिति तथा उपसमिति गठन गरिएको छ।
आयोजक समितिका अनुसार आगामी माघ २२ गतेदेखि फागुन ३ गतेसम्म सञ्चालन हुने शिवपुराण महायज्ञ तथा धार्मिक महोत्सवको तयारीलाई तीव्रता दिन सचिवालय स्थापना गरिएको हो। आर्थिक व्यवस्थापन, संकलन तथा परिचालन समितिका संयोजक किसन सिंह सामन्तले जानकारी दिँदै महायज्ञलाई व्यवस्थित, पारदर्शी र सफल बनाउन आवश्यक संरचना तयार गरिएको बताए। उनका अनुसार धार्मिक महोत्सवमा देशभरका श्रद्धालु भक्तजनको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।
धार्मिक महोत्सव सञ्चालन समिति संयोजक दुर्गादत्त विष्टको अध्यक्षतामा बसेको बैठकले विभिन्न समिति गठन गर्ने निर्णय गरेको हो। बैठकमा मालिकार्जुन गाउँपालिकाका अध्यक्ष हिरा सिंह धामी, उपाध्यक्ष कल्यान सिंह धामी, निवर्तमान अध्यक्ष नरेन्द्र सिंह धामी, प्रहरी, पत्रकार जनप्रतिनिधि, सामाजिक अगुवा, बुद्धिजीवी तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो। बैठकले महायज्ञ सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको निष्कर्ष निकाल्दै जिम्मेवारी बाँडफाँट गरिएको आयोजकले जनाएको छ।
बैठकको निर्णयअनुसार आर्थिक व्यवस्थापन, संकलन तथा परिचालन समितिको संयोजकमा किसन सिंह सामन्तलाई चयन गरिएको छ। समितिको सदस्यमा किशोर राज विष्ट र जगदीश बहादुर पाललाई राखिएको छ। उक्त समितिले महायज्ञ सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत जुटाउने, संकलित रकमको व्यवस्थापन तथा पारदर्शी परिचालनको जिम्मेवारी लिनेछ।
यसैगरी यज्ञ, पूजा–पाठ तथा धार्मिक कर्मकाण्ड व्यवस्थापनका लागि मालिकार्जुन मन्दिरभित्र छुट्टै व्यवस्थापन समिति गठन गरिएको छ। सो समितिले यज्ञशाला व्यवस्थापन, पूजाआजा, पाठ, हवन, प्रवचन तथा धार्मिक कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्नेछ। साथै श्रद्धालु भक्तजनलाई सहज पूजा–दर्शनको व्यवस्था मिलाउने जिम्मेवारी पनि सोही समितिलाई दिइएको छ।
महायज्ञ तथा धार्मिक महोत्सवको क्रममा शिवपुराण कथा वाचन, भजन–कीर्तन, धार्मिक प्रवचन, तथा विविध धार्मिक अनुष्ठानहरू सञ्चालन गरिने आयोजकले जनाएको छ। महोत्सवले धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउनुका साथै स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाउने अपेक्षा गरिएको छ। यश महायज्ञले सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ।
गाउँपालिका अध्यक्ष हिरा सिंह धामीले मालिकार्जुन धामको धार्मिक महत्वलाई राष्ट्रियस्तरमा चिनाउने अवसरका रूपमा महायज्ञलाई लिइएको बताए। उहाँले गाउँपालिका तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता जनाउँदै सबै धार्मिक, सामाजिक तथा राजनीतिक पक्षलाई सहकार्यका लागि आग्रह गरे। उपाध्यक्ष कल्यान सिंह धामीले पनि महायज्ञ सफल बनाउन स्थानीय जनताको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए। कार्यक्रममा बोल्दै निबर्तमान अध्यक्ष नरेन्द्र सिंह धामीले सन्चालन हुने यश महायज्ञले मालिकार्जुनको गरिमा बढ्ने बताउनु भयो।
आयोजक समितिले महायज्ञलाई सभ्य, भव्य र मर्यादित ढंगले सम्पन्न गर्न सुरक्षा, स्वास्थ्य, सरसफाइ, आवास तथा यातायात व्यवस्थापनका लागि समेत उपसमिति गठन गर्ने तयारी गरिरहेको जनाएको छ। साथै देश–विदेशमा रहेका मालिकार्जुन धामका भक्तजन, दातृ निकाय तथा धार्मिक संघसंस्थालाई सहयोग र सहभागिताका लागि आह्वान गरिएको छ।
देशकै महत्वपूर्ण धार्मिक स्थल मालिकार्जुन धाममा आयोजना हुन लागेको शिवपुराण महायज्ञ तथा धार्मिक महोत्सवले धार्मिक चेतना अभिवृद्धि गर्नुका साथै सामाजिक एकता र सद्भाव सुदृढ गर्ने विश्वास गरिएको छ।
