दार्चुला । आगामी फागुन २१मा हुने प्रतिनिधि सभा सदस्यका लागि सरकारले निर्वाचन घोषणा गरेसँगै अहिले राजनीतिक दलले उम्मेदवार टुंग्याउन थालेका छन् । प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै यतिबेला दार्चुलामा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र (रास्वपा) नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) लगायतका पार्टीले उम्मेदवार टुंग्याउँदै लगेका छन् ।
यसैविच दार्चुलामा नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी,(नेकपा) नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेसले जिल्लाबाट यो पटक पनि प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ दिलेन्द्रप्रसाद बडूको नाम एकल रुपमा सिफारिस गरेको छ ।
कांग्रेस जिल्ला कार्यसमितिको बैठकले प्रत्यक्षतर्फ बडूको नाम एकल रुपमा सिफारिस गरेको कांग्रेस दार्चुलाका सभापति ललितसिंह बोहराले बताए । उनका अनुसार समानुपातिकतर्फ करबिरसिंह कार्की, महिलाबाट आनन्दी पन्त भट्ट, राष्ट्रिय सभाको लागि पुरुषतर्फ महादेव बडु, गणेशराज भट्ट, चन्द्रसिंह सामन्त र महिलातर्फ द्रोपती डाँगा, विसन्ता सिनाल, शान्ति कार्की र देउमा लोथ्यालको नाम सिफारिस गरेको हो ।
यस्तै नेपाल कम्युनिस्ट पार्टीले पनि पाँच जनाको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लड्न जिल्लाबाट चार पुरूष र एक जना महिलाको नाम सर्वसम्मत सिफारिस गरिएको हो । ०६४ सालमा दार्चुलाबाट संविधान सभामा निर्वाचित लक्ष्मणदत्त जोशी देखि ०७० सालमा उम्मेदवार बनेका ललितसिह ठगुन्नाको नाम सिफारिस गरिएको छ ।
यस्तै एकीकृत समाजवादीबाट मदनसिह धामी, युवाबाट नरबहादुर विष्ट र महिला बाट गंगाकुमारी महतराको नाम सिफारिस गरिएको नेपाली कम्युनिस्ट पार्टी दार्चुलाले जनाएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले जिल्ला इन्चार्ज नव राज भट्टलाई उमेदवार बनाएर निर्वाचनमा जाने निर्णय गरेको पाटी सचिव नवराज जोशीले जानकारी दिए । त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि उम्मेदवारका लागि छनोट प्रक्रिया गरिरहेको बताइएको छ ।
नेकपा (एमाले) दार्चुलाले भने केही दिनमै उम्मेदवार तय गर्ने जिल्ला कमिटी सचिव उमेश राज जोशीले जानकारी दिए । यसका लागि पार्टीले पौष २० गते जिल्ला कमिटीको नवौ बैठक आह्वान गरेको छ । राप्रपा दार्चुलाले प्रतिनिधिसभा सदस्य प्रत्यक्षमा तीन जनाको नाम सिफारिस गरेको छ । अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निवर्तमान सांसद दिपक बहादुर सिंह, नरेन्द्र सिंह धामी र राजेश बहादुर चन्दको नाम सिफारिस गरेको हो ।
यस्तै समानुपातिकतर्फ राप्रपा जिल्ला अध्यक्ष प्रकाश दयाली, चक्र बहादुर बम र धाना देवी लुहार टमाटाको नाम सिफारिस गरि पठाइएको राप्रपा दार्चुलाका संयोजक पदम राज खत्रीले जानकारी दिए । गत निर्वाचनमा कांग्रेस, एमाले र माओवादी केन्द्रवीच नै प्रतिस्पर्धा भएका कारण यसपटक नयाँ बैकल्पिक शक्तीका रुपमा उदाएको रास्वपा संग तिब्र प्रतिष्पर्धा हुने सम्भावना रहेको छ ।