समानुपातिक सूचीमा सुदूरपश्चिम परेन रास्वपाको प्राथमिकतामा

काठमाडौं ।  वैकल्पिक राजनीतिमा नेतृत्वदायी भूमिका निभाउने बताउँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्राथमितकतामा सुदूरपश्चिम प्रदेश नपरेको गुनासो बढेको छ । रास्वपाले समानुपातिक बन्द सूची बुझाउँदा सुदूरपश्चिम प्रदेशलाई हेपिएको गुनासो बढेको हो । रास्वपाले बुझाएको सूचीमा स्थायी ठेगाना सुदूरपश्चिम उल्लेख गरिएका दुई जना मात्रै छन् ।

दुवै जनाको ठेगाना कञ्चपुर लेखिएको छ । रास्वपाले कञ्चनपुरबाट खसआर्य महिलाको पहिलो नम्बरमा प्रतिभा रावल तथा थारु पुरुष क्लस्टरबाट कञ्चनपुरकै सोमप्रसाद चौधरीलाई उम्मेदवार बनाइएको छ । यता रास्वपा सुदूरपश्चिमका सभापति प्रकाश विष्ट भने सुदूरपश्चिमका पाँच जना बन्द सूचीमा परेको बताउँछन् ।

उनका अनुसार रावल र चौधरीसँगै टीका संगौला (ज्वाला), अनुपकुमार उपाध्याय, करिश्मा कठरिया र गीता चौधरीको घर पनि सुदूरपश्चिम हो । तर, रास्वपाले बुझाएको बन्द सूचीमा रावल र चौधरीबाहेक कसैको पनि स्थायी ठेगाना सुदूरपश्चिमका जिल्लामा छैन । रास्वपा सुदूरपश्चिमले भने ज्वालालाई अछाम, गीता चौधरीलाई कञ्चनपुर तथा करिश्मा कठरियालाई कैलालीबाट समानुपातिक सांसदमा सिफारिस गरेको थियो ।

बन्द सूचीमा परेका ११० जनामध्ये सुदूरपश्चिमको भागमा दुई–चार जना मात्रै परेको भन्दै रास्वपाको प्राथमिकतामा सुदूरपश्चिम नपरेको गुनासो गरिएको हो । धनगढीका नागरिक अगुवा विकास पाठकले भनेका छन्, ‘हाम्रो सुदूरपश्चिम त्यो पूर्वको नजरमा सधैँ टाढा नै छ भन्ने एउटा उदाहरण राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक उम्मेदवार सूची पनि हो । त्यसैले हामी सुदूरपश्चिमबासीले बालेन साह र रवि लामिछानेबाट खासै आश गर्नु व्यर्थ हो ।’

रास्वपा सुदूरपश्चिमले समानुपातिकका लागि ३० जनाको नाम सिफारिस गरेको थियो । तर, केन्द्रले न्यायिक हिस्सा नदिएको भन्दै रास्वपा सुदूरपश्चिमका नेताहरू पनि रुष्ट छन् । ‘११० जनामा ४–५ जना मात्रै सुदूरपश्चिमको भागमा परेका छन्,’ रास्वपा सुदूरपश्चिमका एक नेताले भने, ‘ती ४–५ जना पनि सुदूरपश्चिमलाई केन्द्र बनाएर राजनीति गर्ने होइनन् । अधिकांशको बसाइ राजधानीमै हुन्छ । हामी रास्वपाको नजरमा पनि दूर नै रहेछौँ ।’ यता रास्वपा सुदूरपश्चिमका सभापति विष्टले भने सूची अद्यावधिको समय बाँकी रहेकाले सच्याउन आग्रह गरिरहेको बताए ।

शिलापत्र

Leave A Reply

Your email address will not be published.