दार्चुला । दार्चुलामा जिल्ला निर्वाचन कार्यालयले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने प्रयोजनका लागि अस्थायी मतदाता नामावली संकलन सुरू गरेको छ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने प्रयोजनका लागि अस्थायी मतदाताको विवरण संकलन गर्ने कार्य सुरू गरिएको हो । जिल्लाका विभिन्न स्थानीय तह, सङ्घसंस्था, कारागारसँग अस्थायी तथा करार कर्मचारीको विवरण माग गरि नामावली संकलनको काम सुरू गरिएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका सूचना अधिकारी चित्रप्रकाश जोशीले जानकारी दिए ।
अस्थायी मतदाता नामावलीमा नाम समावेश हुने मतदाताको विवरण यही पुस १९ देखि आगामी माघ १८ गतेसम्म सम्बन्धित निकायका कार्यालय प्रमुखले प्रमाणित गरी प्रमुख नाम दर्ता अधिकारी प्रदेश वा जिल्ला निर्वाचन अधिकारीको कार्यालयमा पठाउनुपर्नेछ । सङ्कलित नामावली प्रकाशन र दाबीविरोध तथा जाँचबुझ गरी अन्तिम अस्थायी मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको उनले बताए ।
आयोगबाट प्रकाशन भएको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थामा कार्यरत कर्मचारी, ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल, कारागारमा रहेका थुनुवा तथा कैदीबन्दी, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले सञ्चालन गरेका वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वीकृति लिई सञ्चालनमा रहेका वृद्धावस्थामा बसेका व्यक्ति एवं संवैधानिक निकायका पदाधिकारीको नामावली सङ्कलन गरिने कार्यालयले जनाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचानका लागि निर्वाचन आयोगले जिल्लामा ९२ हजार ९सय ४८ जना कूल मतदाता कायम गरेको छ ।