दार्चुला । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा दार्चुलामा सुरक्षा तथा प्राविधिक तयारी तीव्र बनेको छ । मतदाता नामावली अद्यावधिकदेखि लिएर मतदान केन्द्रहरूको जोखिम मूल्यांकनसम्मका तयारीलाई जिल्ला प्रशासन सक्रिय रूपमा अघि बढिरहेको छ ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार जिल्लाभर रहेका १४३ मतदान केन्द्रलाई अतिसंवेदनशील, संवेदनशील, र सामान्य गरी तीन भागमा विभाजन गरिएको बताए । जस अनुसार जिल्लाभरीका २२ वटा मतदान केन्द्र अतिसंवेदनशील सूचीमा परेका छन् ।
यस्तै ४१ संवेदनशील र ७८ सामान्य गरी १४३ मतदान केन्द्रलाई बर्गिकरण गरिएको उनले बताए । नौ स्थानीय तह रहेको दार्चुलामा गत २०७९ मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा १४ केन्द्र मात्र अतिसंवेदनशील रहेका थिए । यसपटकको निर्वाचनमा संख्या बढेको बताइएको छ ।
भौगोलिक दुर्गमता, सुरक्षा निकायको पहुँच, मतदातासँग दूरी तथा विगतका निर्वाचन अनुभवलाई आधार मानेर वर्गीकरण गरिएको प्रजिअ पौडेलले बताए । वर्गीकरणअनुसार नै सुरक्षा गस्ती, पोष्ट स्थापना र अन्य आवश्यक तयारी अघि बढाइएको छ ।
प्रशासनले सुरक्षा निकायहरु मार्फत मतदान केन्द्रको बिवरण बुझ्ने काम गरिएको बताए । जिल्लामा १४३ मतदान केन्द्र र ११२ मतदान स्थल रहेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका प्रमुख प्रदीपसिंह धामीले जानकारी दिए । यसअघि दार्चुलामा कुल ९०,७८२ मतदाता रहेका थिए । बढेर ९२ हजार ९सय ४८ जना मतदाता कायम गरिएको छ ।